डुडुवाद्वारा राहत वितरण शुरु


डुडुवाद्वारा राहत वितरण शुरु

डुडुवा (बाँके) : बाँके डुडुवा गाउँपालिकाले राहत वितरण शुरु गरेको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउनले प्रभावित मजदूर तथा अति विपन्न नागरिकलाई राहत वितरण शुरु गरिएको छ ।

संघीय सरकारले जारी गरेको राहत सम्बन्धी कार्यविधी बमोजिम संकलन गरिएको तथ्यांकका आधारमा गाउँपालिकाले राहत वितरण शुरु गरेको अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । उनका अनुसार वडा कार्यलयमार्फत ६ वटै वडामा संकलन गरिएका एक हजार ८ सय परिवारलाई राहत वितरण शुरु गरिएको हो ।

अहिले वडा नम्बर ४ र ५ मा राहत वितरण शुरु भएको प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्यायले जानकारी दिए । उनका अनुसार परिवारको संख्याका आधारमा एक परिवारलाई १५ किलो चामल, २ किलो दाल, १ किलो नून, र १ लिटर खाने तेलसहितको प्याकेज वितरण शुरु भएको छ ।

राहत पाउने व्यक्तीहरुको तथ्याक संकलन र वितरणको जिम्मा वडा कार्यालयलाई नै दिइएको गाउपालिका अध्यक्ष चौधरीले बताए । उनका अनुसार लकडाउनका कारण प्रभावित दैनिक ज्यालामजदूरी, श्रमिक र विपन्न समुदायका नागरिकलाई भोकै हुन नदिन वडाबाट सङ्कलन भईआएका तथ्याङ्कका आधारमा वास्तविक प्रभावितहरुलाई विवादरहित तरिकाले सम्बन्धित वडा कार्यालयहरुबाटै राहत वितरण थालिएको हो ।
आज एक कार्यक्रमका विच ४ नम्बर वडा कार्यालयमा गाउँपालिका उपाध्यक्ष शाहिदा बानोले वडा नम्बर ४ का नागरिकलाई राहत प्याकेज वितरण गरिन् ।