नेपालगन्ज : नेपालमा हालसम्म देखिएको कोरोना भाइरस संक्रमणको तथ्यांकलाई मूल्यांकन गर्दा उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३, भुल्के बस्तीमा सवैभन्दा बढि कोरोना भाइरस संक्रमित फेला परेकाछन् ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३, भुल्के स्थित नूरी मस्जिदमा केहीसमय अघि लुकेर बसेका जमातीमा पहिलो संक्रमण देखिएको थियो । कोरोना संक्रमणको संख्या बढेपछि यतिबेला उदयपुरको उक्त वस्ती सील गरिएकोछ ।
यसबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरको स्वास्थ्य कार्यालय, प्रादेशिक प्रयोगशालाले ७८ जनाको थ्रोब स्वाब संकलन गरेर कोशी अस्पतालमा परीक्षण भइरहेको छ । उदयपुरको चौदण्डीगडी र त्रियुगा नगरपालिका वरिपरि नमुना परीक्षणका लागि संकलन गरिरहेको छ ।
त्यसैगरी, प्रदेश २ का आठै जिल्लाका २७ विभिन्न स्थानमा १५ सयभन्दा बढीको नमुना संकलन गर्न नेपाली सेना र स्वास्थ्य सेवा विभागको टिम त्यहाँ गएर नमुना संकलन गर्ने कार्य भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार देशैभर हालसम्म साढे ९ हजार जनाको कोरोना भाइरस आशंकामा पीसीआर विधिबाट नमुना संकलन गरेर परीक्षण गरिएको छ ।
मन्त्रालयले शुक्रबार गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म आरडीटीमा ३८ हजार ८९ जना र पिसिआर विधिबाट ९ हजार ४ सय ७ जना गरी जम्मा ४७ हजार ४ सय ९६ जनाको कोरोना भाइरस परीक्षण गरिएको जानकारी दिए ।
बिहीबार बेलुका कोरोना संकक्रमण देखिएका भोजपुरका २६ वर्षका पुरुष फागुन ३० गते साउदी अरबबाट हिमालयन एरलाइन्सको विमानबाट काठमाडौं आएका थिए । ती युवकमा आरडीटी पोजेटिभ देखिएपछि पुनः पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । ती युवकको सम्पर्कमा रहेका आफन्तहरुको सबैको नमुना संकलन गरिएको समेत मन्त्रालयले जनाएको छ ।