प्रतिकात्मक तस्विर
नेपालगन्ज : मुस्लिम धर्मावलम्बीहरुको महान पर्व रमजान आजदेखि शुरु भएको छ । सरकारले लगाएको बन्दाबन्दीकाबीच शुरु भएको रमजानले नेपाली मुसलमानहरुलाई सास्ती भोग्नु परेकोछ ।
विशेषगरी रमजानमा मुस्लिम धर्मावलम्बीहरु एक महिनासम्म वर्त अर्थात रोजा (उपवास) बस्ने गर्दछन् । बेलुका सामुहिक नमाज पढेर व्रत तोड्ने गर्दछन् । हिजरी सम्बतको नवौं महिना अर्थात रमजान महिना सुरु भएपछि उपवास बस्ने र ब्रम्हाचार्यमा रहनुपर्ने परम्परामा रहेको छ ।
रमजानमा मुसलमानको सबैभन्दा ठूलो धर्मग्रन्थ कुरान अवतरण भएको विश्वास सहित अल्लाह(भगवान)को कृतज्ञता प्राप्त हुने विश्वास पनि गरिन्छ । रमजान महिनाको अर्को ठूलो विशेषता दान दिनु, गरीब र दीन दुःखीलाई सेवा गर्नु तथा जकात निकाल्नु पनि हो ।
रमदानमा मस्जिदमा सामूहिक नमाज (प्रार्थना) अदा (समर्पण) गर्ने परम्परा भएपनि यस वर्ष कोरोना भाइरस (कोभिड १९) को सन्त्रासका कारण मुस्लिम धर्मावलम्बीहरुले घरमै बसेर नमाज अदा गर्दै छन् ।
कोरोना भाइरस संक्रमणको रोकथामका लागि सरकारले लकडाउन लागू गरेकाले त्यसको परिपालना गर्दै घरमै सबै विधि पूरा गरेर नमाज अदा गरिदैँछ । जसका कारण रमजानमा सँधै भिडभाड हुने देशभर रहेका मस्जिदहरु यतिबेला सुनसान देखिन्छन् ।
रमदानको पहिलो दिखन शनिबार नेपालगन्जका मस्जिदहरु सुनसान देखिए । मस्जिद भित्रै बस्ने केही धर्मगुरु र कर्मचारीहरुले कोरोना भाइरसका लागि अपनाइएको समाजिक दूरी कायम गर्दै नमाज अदा गरेका थिए ।
यसबीच नपाली जामे मस्जिदका अध्यक्ष अब्दुल समिमले कोरोना भाइरसको संक्रमणको जोखिमलाई ध्यान दिइएर सबैलाई घरमै बसेर नमाज अदा गर्न र लकडाउनको पूर्ण पालना गर्न आग्रह गरेकाछन् ।
रमजानको पूर्वसन्ध्यामा नेपालगन्जका इस्लाम धर्मगुरुले हरेक शुक्रबार गरिने जुमाको नमाज, पाँच पटकको नमाज र तरावीहरुको नमाजसमेत घरमै पढ्ने व्यवस्था मिलाउन सार्वजनिक अपील गरेका छन् ।
‘इस्लाम धर्मगुरुले एक विज्ञप्ती जारी गरि कोरोनाको जोखिमलाई कम गरि आफू र अरुलाई जोगाउन रमदानका सम्पूर्ण कार्य आ–आफ्नो घरमा गर्न अपील गर्दछौँ,’ इस्लाम धर्मगुरुद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
रमजानका अवसरमा हुनसक्ने पारिवारिक भेटघाटलाई कम गर्न र सामाजिक दूरीलाई ख्याल गर्न पनि इस्लाम धर्मावलम्वीले सुझाव दिएका छन् । इस्लाम धर्ममा आस्था राख्ने केहि व्यक्तिमा कोरोना संक्रमण देखिएसँगै समुदाय लक्षित सार्वजनिक टिका टिप्पणीप्रति पनि सचेत रहन धर्मगुरुले आह्वान गरेका छन् ।
‘सम्भावित कोरोना संक्रमित, आशंकीत व्यक्तिको पहिचान गरी स्वास्थ्य परीक्षण, उपचार गर्न–गराउन सरोकारवाला पक्षसँग आह्वान गर्दछौँ ।’ विज्ञप्तीमार्फत अपील गर्नेमा केन्द्रीय हज कमिटीका पूर्व अध्यक्ष मौलाना अब्दुल जव्वार मञ्जरी, जामा मस्जिद नेपालगन्जका मुुफ्ती कैफुल वरा खाँ मिसवाही, मदरसा व्यवस्थापन समितिका पूर्व अध्यक्ष मौलाना मन्सुर अहमद, जामा मस्जिदका महासचिव इर्फान सिद्धिकी, संविधान सभाका सदस्य भोला सिद्धिकी, मदरसा गौसीयाका सचिव मोहम्मद हारुन र मुस्लिम संगठन नेपालका सह–संयोजक अतहर हुसेन फारुकी रहेका छन् ।
रमदानमा बिरामी, गर्भवती महिला र अशक्तहरुलाई रोजा बस्न छुट रहेको छ भने रोजा बस्नेहरुले निश्चित नियम भने पूरा गरेको हुनुपर्ने हुन्छ । रमदानमा शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ । रमदानको भोलीपल्ट ईद मनाइन्छ ।