File Photo
नेपालगन्जः कोरोना भाइरस संक्रमणका कारण सरकारले लगाएको लकडाउन र सामाजिक दूरीका कारण यस वर्षको बुद्ध जयन्ती प्रभावित बनेकोछ । २५६४ औं बुद्ध जयन्ती तथा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका पूर्वनिर्धारित सबै औपचारिक कार्यक्रम स्थगित भएका छन् ।
यस वर्ष २५ वैशाख (७मे)का दिन वैशाख शुक्ल पूर्णिमा तथा बौद्ध जयन्ती मनाइँदैछ । तर, प्रस्तावित लुम्बिनी प्रदेशको लुम्बिनी विकास कोषले यस दिन पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरेको जनाएकोछ ।
यस दिन नेपाल सरकारबाट कोभिड–१९, रोकथाम तथा नियन्त्रणका लागि जारी निर्देशनअनुसार सामाजिक दूरी कायम गर्दै बौद्ध भिक्षु तथा भिक्षुणी एवम लामा गुरु÷गुरुमाहरूबाट विश्व शान्तिको कामना गर्दै प्रार्थना र पूजा मात्र गरिनेछ ।
भगवान गौतम बुद्धको २५६४ औं जन्मजयन्तीका अवसरमा २५६४ वटा दीप प्रज्वलन गरिने भएको छ । कोषले बौद्ध समुदायसहित सबैलाई नेपाल सरकारको निर्देशन पालना गर्दै सुरक्षित तवरबाट घरमै प्रार्थना तथा पूजापाठ गरी बुद्ध जयन्ती मनाउन आहृवान समेत गरेको छ ।
यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुद्ध जयन्ती तथा तेस्रो अन्तराष्ट्रिय बौद्ध सम्मेलनलाई सफल बनाउने गरी तयारी थालेको थियो । तर, पछिल्लो समय नेपालमा कोरोना भाइरस संक्रमित संख्या एकाएक बढेपछि थप सजगता अपनाउदै यस्तो निर्णय गरिएको हो ।
हालसम्म नेपालमा कोरोना भाइरसका कारण कसैको पनि मृत्यु भएको छैन । यद्यपी नेपालमा कोरोना भाइरस संक्रमणको जोखिम भने यथावत रहेकोछ । लकडाउन र सामाजिक दूरीको पूर्ण पालना गर्नु नै यसको प्रकोपबाट बच्नु हो ।