नरैनापुरबाट ५६ जनाको स्वाब परीक्षणका लागि भेरीमा पठाइयो


नरैनापुरबाट ५६ जनाको स्वाब परीक्षणका लागि भेरीमा पठाइयो

नरैनापुर(बाँके): बाँकेमा कोराना भाइरस संक्रमित भेटिएपछि परीक्षणको दायरा बढाउनुपर्ने माग बढेकोछ । कोरोना संक्रमित भेटिएको ब्यक्ति र उसको ट्राभल हिस्ट्रिलाई खोजी आशंकित क्षेत्रमा कोरोना परीक्षण गरिनुपर्ने जनसमुदायबाट माग समेते बढेकोछ । यसैबीच बाँकेको नरैनापुरबाट ठूलो मात्रामा स्वाब परीक्षणका लागि संकलन गरिएकोछ ।

बाँकेको नरैनापुर गाउँपालिकाबाट आज ५६ जनाको स्वाब संकलन गरिएको छ । त्यहाँ रहेका मस्जिद र मदरसाका ३१ जना मौलाना, मन्दिरका ७ जना पुजारी तथा क्वारेन्टिनमा रहेका १५ जना, क्वारेन्टिनका २ जना स्वास्थ्यकर्मी र सहयोगी १ जना गरी ५६ जनाको स्वाब संकलन गरिएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

नरैनापुरबाट संकलन गरिएको उक्त स्वाब परीक्षणका लागि भेरी अस्पताल पठाइएको छ । मुस्लिम आयोगद्वारा गठित जिल्ला स्तरीय अनुगमन समितिको नेतृत्वमा गएको स्वास्थ्यकर्मी सहितको टोलीले कोरोना परीक्षणका लागि स्वाब संकलन गरेको हो ।

केही दिन अघि जिल्लाका विभिन्न धार्मिक संस्थाहरुमा बस्ने ब्यक्तिहरुको स्वाब लिएर संकलन गर्ने निर्णय अनुसार आज नरैनापुरबाट स्वाब लिइएको अनुगमनमा सहजीकरण गर्ने जिम्मेवारी पाएका नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष मोहम्मद सफिक बेहनाले बताए । अनुगमन समिति संयोजक संविधानसभा सदस्य एवं मुस्लिम अगुवा अब्दुल हमिद सिद्दिकी(भोला)को नेतृत्वमा उक्त टोली नरैनापुर गएको थियो ।