हेमन्त केसी
जाजरकोटः भेरी नगरपालिका वडा नम्बर १ पिपेका हरिबहादुर पुन हिजोआज मल बोक्दै छन् । मकै रोप्ने बारीमा मल छर्नुपर्नेछ । एक साताअघि उनी नुवाकोटबाट घर भएका हुन् । त्यसबेला उनलाई वडा कार्यालयले क्वारेन्टाइनमा बस्न अनुरोध गरेको थियो । उनीसँगै आएका सात जना घर नजिकै रहेको ज्यामिरे ओडारमा गएर बस्न थाले ।
उनीहरु दैनिक ज्यामिरे ओडारबाट घर आएर सामाजिक दूरी कायम गरी मल बोक्नेदेखि अरू काम गरिरहेका छन् । गाउँघरभन्दा नजिकै रहेको ओडारमा राति सुत्ने र दिनभरि घरको काम गरिरहेको वडाध्यक्ष दीपक रानाले बताए ।
पिपे गाउँकै टार्जन पुनको सात जनाको टोली पनि बैतडीबाट काम गरेर ‘लकडाउन’कै समयमा घर फर्केलगत्तै पिपेस्थित अर्को ओडारमा बसिरहेको छ । वडा कार्यालयले व्यवस्था गरेअनुसार सो टोली आफूले रोजेरै ओडारमा बसिरहेको टार्जन पुनले जानकारी दिए ।
अहिले दिनमा सामाजिक दूरीका साथ गोठबाट खेतबारीमा मल बोक्ने राति भएपछि सातजनाको टोली ओडारमा गएर बस्ने गरेको स्थानीय पत्रकार सहदेव बस्नेतले बताए ।
‘खेतबारीमा मल नबोक्ने हो भने बाली सप्रिँदैन । अर्को वर्ष के खाने?,’ उनले प्रश्न गरे, ‘हामी राजी, खुशीका साथ राति ओडारमा बस्छौँ । बिहान खाना खाएर नियमित सामाजिक दूरीका साथ घरमा गएर काम गछौँ ।’ १४ दिनसम्म ओडारमा खाना र सुत्ने व्यवस्थासहित बसेर घर फर्कने उनीहरुको भनाइ छ ।
अहिले जाजरकोटमा बाहिरी जिल्लाबाट फर्केकाहरु राति क्वारेन्टाइनमा बस्ने र दिनमा सामाजिक दूरी कायम गरी घरायसी काममा जुटेको पाइएको छ । कसैले घरमा गहुँ भित्र्याउने काममा जुटेको पाइएको छ भने कतै मकै रोप्ने काममा लागेको देखिन्छ । अहिले धानको बीउसमेत राख्ने समय भएकाले खेतमा समेत देख्न सकिन्छ ।
जिल्लामा धेरै मानिस भित्रिएका कारण क्वारेन्टाइन भरिभराउ भएसँगै ओडारमा समेत व्यवस्थापन गरिएको स्थानीय सरकारले बताएका छन् ।
जिल्लाभरि रहेका विद्यालय क्वारेन्टाइनका लागि मुख्य थलो भएका छन् । विद्यालयका डेष्क, बेन्च हटाएर सामाजिक दूरी कार्य गरी बाहिरबाट आएका मानिस राखिएको छ ।
भेरी नगरपालिकाले सदरमुकामस्थित त्रिभुवन माविलगायत विद्यालयका क्वारेन्टाइन बनाएका छ । नलगाड नगरपालिकाले त्रिभुवन मावि दल्लीलगायत अन्य ठाउँमा क्वारेन्टाइन निर्माण गरेर मानिस व्यवस्थापन गरेको छ ।
त्यस्तै बारेकोट गाउँपालिकाले वीरेन्द्र ऐश्वर्य मावि लिम्सा, सरस्वती मावि सिलिङ्गीचौरदेखि अन्य सबै वडामा रहेका विद्यालयमा क्वरेन्टाइन निर्माण गरी १७६ जनालाई क्वारेन्टाइनमा राखेको छ ।
छेडागाड नगरपालिकाले पनि विद्यालयमा नै व्यवस्थापन गरेको बताएको छ । शिवालय गाउँपालिकाले पायक पर्ने विद्यालयमा नै व्यवस्थापन गरिएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिए ।
जुनिचाँदे गाउँपालिकाले सबै वडामा रहेका नजिकका विद्यालयमा क्वारेन्टाइन बनाएर काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले जानकारी दिए । खाद्यान्न, अन्य औषधि, डाक्टर जान र आउन सक्ने सजिलो ठाउँमा क्वारेन्टाइन निर्माण गरिएको उनले बताए ।
जिल्लाका सबैभन्दा बढी बारेकोट गाउँपालिका र नलगाड नगरपालिका, भेरी नगरपालिकाका मानिस ‘लकडाउन’को समयमा बाहिरबाट बढी आएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लामा दुई हजारभन्दा बढी मानिस जिल्लामा भित्रिएका छन् । अझै देशका विभिन्न ठाउँमा अलपत्र परेका मानिस सांसद एवं मन्त्रीको पहलमा जिल्लामा भित्रिने क्रम जारी रहेको छ ।
अहिलेसम्म ५०० दु्रत परीक्षणका लागि किट आए पनि क्वारेन्टाइनमा बसेका ४५० जना मानिसको कोरोना भाइरस जाँच गरिएको छ । सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
विदेशबाट आएकालाई पहिलो प्राथमिकता बनाएर जाँच गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । जिल्लामा अझै एक हजार ५०० किट आवश्यक रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशिला बस्नेतले बताए । हालसम्म कर्णाली प्रदेशका कुनै जिल्लामा पनि कोरोनाबाट संक्रमण भएको व्यक्ति फेला नपरेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।-रासस