कोरोना भेटिएपछि नेपालगन्जियाको दैनिकी फेरियो


कोरोना भेटिएपछि नेपालगन्जियाको दैनिकी फेरियो

नेपालगन्जः कोरोना भाइरस सङ्क्रमणका लागि जारी बन्दाबन्दीको बेवास्ता गर्दै सडकमा निस्किने नेपालगन्जिवयाको दैनिकी फेरिएको छ । शुक्रबार पहिलोपटक नेपालगन्जमा एक जनामा सङ्क्रमण देखिएपछि होस् खुलेको नेपालगन्जिया कोरोनाबाट त्रसित हुन पुगेका छन् ।

आफ्नै आँखा अगाडी एकजना संक्रमित भेटिएपछि त्रसित बनेका नेपालगन्जिया यसअघि विभिन्न बहानामा सडकमा निस्कने गर्दथे । नेपालगन्जका विभिन्न गली, चोक र टोलमा विना कारण निस्कनेलाई दैनिकजसो प्रहरीले नियन्त्रणमा लिने गरेको भएपनि लकडाउनको अवेज्ञा हुनेगरेको थियो ।

नेपालगन्जमा कोरोना संक्रमित ब्यक्ति रहेको गाईगुई हल्ला बिहीबार नै सामाजिक सञ्जालमा चलेको थियो । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकेको नेपालगन्ज र रुपन्देहिमा गरि २ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेसगैं नेपालगन्जियाको दैनिकी फेरियो । हिजो शनिबार नेपालगन्जका सडक सुनसान देखिएका थिए । भने आजा आईतबार विहान दशबजे भन्दा अघिसम्म घरयासी किनमेलका लागि सर्वसाधरण आएको सडकको दृष्यले प्रष्ट पारेको थियो ।

नेपालगन्जमै कोरोनाको बिरामी भेटिएपछि त्रासले नेपालगन्जियाको दिनचर्यामा परिवर्तन आएको हुन सक्ने बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर ओलीले बताए । उनले स्थानीय प्रशासनले बिहान १० बजेदेखि अत्यावश्यक बाहेकका सवै पसल बन्द गराई आवतजावतमा समेत कडाई गरिएकोले बेवास्ता गरी उल्लङ्घन गरेमा कानूनी कारबाही गरिने बताए ।

नेपालगन्जका मुस्लिम अगुवा मोहम्मद हारुन हलवाईले कोरोना पोजेटिभ देखिएपछि नेपालगन्जिया त्रसित भएको बताए । उनले भने– ‘पहिलेदेखिनै मान्छे डराइरहेका थिए, घरमै बसेर नमाज पढ्ने काम भइरहेको थियो’ । उनले थपे–‘एक जनामा कोरोना देखिएपछि अहिले धेरै त्रास छ, घरबाट मान्छे बाहिर निस्किन डराइरहेका छन् ।’

यसबीच नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शम्शेर राणाले लकडाउनको पूर्ण पालना गर्दै घरमै सुरक्षितसाथ बस्न नगरबासी समक्ष आग्रह गरेकाछन् । मेयर डाक्टर राणाले शनिबार आफ्नो सामाजिक सञ्जालमार्फत स्टाटस लेख्दै भनेकाछन्–‘बाँके प्रशासन, स्वास्थ्यकर्मी र नगरपालिकाले आफ्नो काम गरिरहेकोछ । लकडाउनको पालना गर्दै सुरक्षितसाथ घरमै बसौं ।’

मेयर डाक्टर राणा मात्र होइन यतिबेला बाँकेका अधिकासं ब्यक्तिले कोरोना भाइरस संक्रमण भेटिएसगैं उब्जिएको मनोवैज्ञानिक त्रासले आम नागरिक आतंकित नहुन आग्रह गरेकाछन् ।

नेपालमा कोरोना भाइरस भेटिएको पहिलो केस गत वर्ष माघ १० गते हो । तीन महिना भन्दा बढिको समयसम्म बाँकेमा कसैमा पनि कोरोना भाइरस संक्रमण नदेखिएपछि बाँकेबासी विशेषगरि नेपालगन्जियाले प्रशासनले लगाएको लकडाउन र सामाजिक दूरीको धजिया उडाएका थिए ।
कोरोना जस्तो गम्भीर जोखिममा पनि नेपालगन्जियाको अनुशासन नदेखिएपछि बाँके प्रशासनले भेडाबाख्रा धपाएसरह नेपालगन्जियालाई घरमै बस्न लगाइरहेका थिए ।

कोरोना भाइरस संक्रमणको घटना बाहिर आएपछि यतिबेला बाँके प्रशासनले उच्च सर्तकता अपनाएकोछ । आशंकित ब्यक्ति र कोरोना भाइरस भेटिएको आसपासलाई उच्च निगरानीमा राखिएकोछ । संक्रमित ब्यक्तिको सम्पर्कमा आएका ब्यक्तिहरुको स्वाब परीक्षणका लागि संकलन कार्य चलिरहेकोछ ।

नेपालमा कोरोना भाइरस संक्रमणबाट हालसम्म कसैको पनि मृत्यु भएकोछैन । संक्रमितको संख्या ५९ पुगेपनि निको हुनेको संख्या बढ्दै गएकोछ । हालसम्म १६ जना निको भएर घर फर्किसकेकाछन् ।