नेपालगन्ज: कोभिड १९ को संक्रमणमा परेका नेपालगन्जका २३ जनाको खजुरा गाउँपालिकास्थित क्यान्सर अस्पतालमा बनाइएको आईशोलेशनमा उपचार भैरहेको छ ।
पहिलो पटक गएको शुक्रबार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर आठका एक व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो । त्यस लगत्तै उक्त स्थानलाई नै क्वारेन्टाइन बनाई आम नागरिकको स्वास्थ्य जाँच गर्दा मंगलबारसम्म २३ जनामा सक्रमण भेटिएको थियो ।
यसरी संक्रमित भएकालाई उपचारका लागि खजुरामा भएको आइशोलेसनमा राखिएको र सबैलाई आबश्यकताअनुसार औषधीपचार भैरहेको भेरी अस्पतालमा प्रमुख डाक्टर प्रकाश थापा बताउँछन् ।
आइशोलेशनमा रहेका सबै विरामीका लागि सरकारले तोकेअनुसारकै सेवा सुविधा सतप्रतिशत नभएपनि व्यवस्थापनमा अस्पतालले राम्रै प्रबन्ध मिलाएको छ । आइशोलेशनमा बसेकाहरूका लागि सरकारले प्रदान गर्ने सबै प्रकारका सेवा सुविधाका साथै औषधी उपचार र खानपानमा समेत उत्तिकै ध्यान दिइएको आइशोलेशनमा रहेकी इन्चार्ज तथा भेरी अस्पतालकी नर्सिङ अधिकृत शिला शर्मा बताउँछिन् ।
कोरोना विशेष आइसोलेसन अस्पताल खजुरामा खानपान बसाई, सरसफाईको ब्यबस्थापन ब्यबस्थित भएको र अस्पतालमा पोजेटिभ केस आउँदैमा त्रसित नहुन उनले स्थानीयसँग आग्रह समेत गरेकी छन् । उनकाअनुसार आईशोलुसनमा रहेका विरामी र यहाँ खटिएका स्वास्थ्यकर्मीको बसाई र खानापान एउटै र उस्तै व्यवस्थापन गरिएको छ ।
एउटै टोलका २३ जनालाई संक्रमण पुष्टि भएपछि नेपालगन्जमा बाँके प्रशासनले निषेधाज्ञा जारी गरेको छ । कन्ट्याक्ट टे«सिङका क्रममा भएको स्वाब संकलनको मंगलबार आएको पछिल्लो ४५ जनाको नतिजामा ७ जनालाई संक्रमण पुष्टि भएको थियो । नयाँ संक्रमण पुष्टि हुनेमा एकै परिवारका सदस्य समेत छन् । त्यसअघि ७ बर्षीया बालिकामा संक्रमण पुष्टि भएकोमा उनकी आमाको नतिजा पनि पोजेटिभ आएको भेरी अस्पतालले बताएको छ ।
आमा पनि पोजेटिभ भएपछि बाबु, आमा र छोरीलाई एउटै क्याबिनमा राखिएकोले पनि यहाँको व्यवस्थापन गतिलो देखिएको मुस्लिम आयोगद्वारा गठित अनुगमन समितिका सदस्य मो। अब्दुल कविले बताए । उनले भने, ‘अस्पतालमा रहेका सबै बिरामीहरुको अवस्थामा सामान्य छ ।’
नेपालगन्जमा कोरोनाको संक्रमणको जोखिम थप बढ्दै गएपछि प्रदेश पाँच सरकारले कोरोना भाइरसको उपचारका लागि क्षमता विस्तार गर्ने भएको छ । मुख्यमन्त्री शंकर पोख्रेलको संयोजकत्वमा रहेको क्राइसिस म्यानेजमेण्ट सेन्टरको बैठकले त्यसका लागि नेपालगन्जस्थित नेपाली सेनाको अस्पताल र नेपाल प्रहरीको अस्पताललाई समेत आवश्यकता अनुसार प्रयोग गर्ने निर्णय गरेको हो ।
बैठकले प्रदेशमा कोरोना भाइरसको खासगरी नेपालगन्जमा बढी प्रभाव देखिएकोले परीक्षणको दायरा बढाउन आवश्यक किट, स्वास्थ्य सामग्री, पर्सनल सेक्युरिटी इक्वीपमेन्ट, औषधी उपलब्ध गराउन सामाजिक विकास मन्त्रालयले आवश्यक संयोजन गर्ने निर्णय पनि गरेको छ ।
कोरोना भाइरसका संकास्पद विरामीहरुको पिसिआर परीक्षणलाई जोड दिने र भारतबाट आउनेका हकमा आइसोलेसन बेड भएका अस्पतालमा राखी स्वाव संकलनको व्यवस्था मिलाउने निर्णयपनि बैठकले गरेको छ ।
कोरोना विशेष अस्पतालका लागि आवश्यक सबै खर्च कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा उपचार कोषबाट नियमानुसार खर्च गर्ने व्यवस्था सामाजिक विकास मन्त्रालयले मिलाउने, नेपाल भारत सीमा क्षेत्रको सुरक्षासम्वन्धी जनशक्ति, आवश्यक सामग्री र आवास लगायतको समस्याका सम्वन्धमा आन्तरिक मामिला तथा कानून मन्त्रालयले गृह मन्त्रालयसँग आवश्यक समन्वय गरी कार्ययोजना तयार गर्ने, प्राथमिक उपचारका लागि आवश्यक औषधी र स्वास्थ्यजन्य उपकरण सामाजिक विकास मन्त्रालयले उपलब्ध गराउने निर्णयपनि बैठकले गरेको छ ।