बाँकेको खजुरामा रहेको कोरोना बिशेष अस्पतालको आइसोलेसनका बारे सञ्चारकर्मीलाई जानकारी दिदै भेरी अस्पतालकी नर्सिङ अधिकृत तथा आइसोलेसन इन्चार्ज शिला शर्मा । तस्विर : विजय मल्ल /सेतोखरी
नेपालगन्ज : कोभिड १९ (कोरोना संक्रमित) विरामीलाई उपचार गर्नका लागि खजुरामा रहेको कोरोना विशेष अस्पालमा बनाइएका आईसोलेसन कक्ष विरामीमैत्री देखिएका छन् ।
सरकारी मापदण्डअनुसार विविध स्वास्थ्य उपकरणसहित भेन्टिलेसन जडान गरिएका ती आइसोलेसन कक्ष उपचारका लागि विरामीमैत्री देखिएका हुन् । यहाँ सरकारी मापदण्डअनुसार आइसुलेसन कक्ष तयार गरिएको छ । यतिमात्र होइन सरकारी मापदण्डअनुसार नै विरामीका लागि गास, बास र आवश्यक मनोरञ्जन (खेल सामाग्री) को व्यवस्थापन समेत गरिएको छ ।
आइसोलेसन कक्ष विरामीका लागि सहज हुने गरी विरामीमैत्री र सेवामुखी रहेको भेरी अस्पतालका प्रमुख डाक्टर प्रकाश थापा बताउँछन् ।
बाँकेको नेपालगन्जमा २३ जना संक्रमति भएको हुँदा आम जनमानस आतंकति बनेको छ । तर, बुधबार भेरी अस्पतालले गरेको परीक्षणका क्रममा ३४ जनामा नै कोरोना नेगेटिभ देखिएको छ । यसले बाँकेबासीमा कोरोनासँग जुध्ने थप उर्जा र हौसला प्रदान गरेको छ ।
आइसोलेसनमा रहेका सबै बिरामीका लागि सरकारले तोकेअनुसारकै सेवा सुविधा सतप्रतिशत नभएपनि व्यवस्थापनमा अस्पतालले राम्रै प्रबन्ध मिलाएको छ । तर, विरामीका लागि आवश्यक सबै सेवा प्रदान गरिएपनि यहाँ उत्पादन हुने फोहोर विर्सजनमा भने एकदमै समस्या देखिएको छ । यसका लागि गाउँपालिकासँग पटक/पटक छलफल भइरहेको भेरी असप्तालकी नर्सिङ अधिकृत तथा आइसुलेसन इन्चार्ज शिला शर्मा बताउँछिन् । उनकाअनुसार पालिकाले पनि यहाँको फोहोर व्यवस्थापनका लागि प्रयास भइरहेको बताएको छ । उनले भनिन् ‘एकदुई दिनमा यसको पनि व्यवस्थापन हुन्छ ।’
आइसोलेसनमा बसेकाहरूका लागि सरकारले प्रदान गर्ने सबै प्रकारका सेवा सुविधाका साथै औषधी उपचार र खानपानमा समेत उत्तिकै ध्यान दिइएको आइसोलेसनमा रहेकी इन्चार्ज तथा भेरी अस्पतालकी नर्सिङ अधिकृत शर्मा बताउँछिन् । कोरोना विशेष आइसोलेसनमा खानपान बसाई, सरसफाईको ब्यवस्थापन ब्यवस्थित भएको र अस्पतालमा पोजेटिभ केस आउँदैमा त्रसित नहुन उनले स्थानीयसँग आग्रह समेत गरेकी छन् ।
उनकाअनुसार आईसोलेसनमा रहेका विरामी र यहाँ खटिएका स्वास्थ्यकर्मीको बसाई र खानापान एउटै र उस्तै व्यवस्थापन गरिएको छ । यसअघि आफन्तलाई छुट्टै राखिएको बाहिर आएको हल्ला गलत भएको भन्दै आफन्त वा यहाँ रहेका बाबुछोरीलाई एकै ठाउँमा राखिएको, उनीहरूको माग र आवश्यकताअनुसार सामग्री, खानापान र अन्य समयविताउने सामाग्रीहरू उपलब्ध रहेको उनले बताइन् । उपचारमा रहेका विरामीको अवस्था सामान्य छ ।
उनकाअनुसार खजुराको आईसोलेसनमा राखिएका विरामीमध्ये एक जना गर्भवती महिला पनि छन् । कोभिड १९ को समस्याले रूप लिन सक्ने कुरालाई ध्यान दिएर जनस्वास्थ्यको पहल र भेरी अस्पतालको सहयोगमा बाँकेको खजुरामा आइसोलेसन कक्ष तयार पारिएको थियो ।
उक्त कक्षमा गएको शुक्रबारदेखि बुधबारसम्म २३ जना संक्रमितहरूले नियमित उपचार गराई रहेका छन् । जसमा सात वर्षको बालिकादेखि ६० वर्षको जेष्ठ नागरिकसम्म उपचारमा भएको उनले जानकारी दिइन् ।