कोभिड १९: ‘कोरोना योद्धा राजन’


कोभिड १९: ‘कोरोना योद्धा राजन’

नेपालगन्ज: बाँकेमा खरीद–बिक्री, ठेक्कापट्टा, भ्रष्टाचार र छानबिनको आफ्नै कथा छ । तर, त्यो कोलाहलकै बीच स्वास्थ्यकर्मीहरू कोरोना संक्रामक रोगको उपचारमा दिनरात खटिरहेका छन् । कोरोनाविरूद्धको संघर्षमा अग्रपंक्तिमा स्वास्थ्यकर्मी २४सै घण्टा ड्युटीमा छन ।

पीपिई अर्थात् व्यक्तिगत सुरक्षा उपकरण अभाव छ । भेरी अस्पतालका फिजिसियन डाक्टर राजन पाण्डे शुरूवात देखि नै कोरोना उपचारका लागि समर्पित हुँदै आएका छन् । उनी यसको रोकथाम र नियन्त्रण तथा आम नागरिकको स्वास्थ्य परीक्षणका लागि ‘कोरोना योद्धा’ झंै देखिएका छन् ।

बाँकेमा बैशाख १९ मा पहिलो पटक कोरोना संक्रमित भेटिएसँगै खजुरामा रहेको कोरोना अस्पतालमा खटिएका डाक्टर पाण्डेले वितेको सातदिन मात्रै होइन अहिलेपनि उत्तिकै सक्रियताका साथ विरामी र आमनागरिकको स्वास्थ्य परिक्षण गरिरहेका छन् ।

अस्पतालमा अहिलेसम्म पाण्डेसहति थुप्रै डाक्टर खटिएका छन् । तर, पहिलो संक्रमित आउँदा सबैमा त्राही त्राही भैरहेको बेला आँट गरेर फिजिसियन पाण्डेले पुरै स्वास्थ्य टीमको नेतृत्व गरेका थिए ।

भेरी अस्पतालमा आकस्मिक कक्ष, फिभर क्लिनिक, क्वारेन्टिन, आइसोलेसन र आइसियूजस्तो व्यस्त सेवामा उनीहरू अथक रूपमा विगतदेखि अहिलेसम्म पनि खटिरहेका छन् । तर, सोवा प्रदान गर्दा डाक्टर पनि सुरक्षित हुनुपर्ने भएकोले पीपिई मात्र होइन, मास्क पनि जोगाउनुपर्ने आवश्यकता देखिएको उनी बताउँछन् । अहिले पनि बाँकेमा मात्रै होइन मुलुकमै पीपिईको अभाव छ ।

जनस्वास्थ्यको तथ्याकं अनुसार सोमबारसम्म पिसिआर ९ सय ८३ आरडिटी ६ सय १० परीक्षण भएको छ । जसमा अधिकाशंको स्वास्थ्य परीक्षणमा डाक्टर पाण्डेको सक्रिय भूमिका देखिएको जन स्वास्थ्यका फोकल पर्सन नरेश श्रेष्ठ बताउँछन् ।

उनकाअनुसार अहिलेसम्म ६ सय ४५ नेगेटीभ देखिएका छन् । पिसिआर पोजेटीभ २४ छ । स्वास्थ्य परीक्षणपछि स्वाव लिइएकामध्ये ३ सय १४ वटाको नतिजा आउनबाँकी छ ।

गोरखाको तत्कालिन पालुङ्टार गाविस ९ मा बुबा भरतराज र आमा कमलादेवी पाण्डेको पहिलो सन्तानका रूपमा २०३८ सालमा जन्मिएका पाण्डेले भवानी माध्यमिक विद्यालय पालुङ्टारबाटै प्राथमिक तहको शिक्षा शुरू गरेका हुन ।

२०७२ सालमा कन्सल्टेन्ट फिजिसियनका लागि खुल्ला प्रतिस्पर्धाबाट आफनो नाम पहिलो नम्बरमा दर्ज गराउँन सफल भएका पाण्डे २०७४ सालमा एक जनाको लागि मात्रै खुलेको सहसचिव स्तरको प्रमुख कन्सल्टेन्ट फिजिसियनमा सफल भएको बताउँछन् । उनी अहिले भेरी अस्पतालमा प्रमुख कन्सल्टेन्ट फिजिसियनकै रूपमा कार्यरत छन् ।