जर्मनीमा ‘जुनुको जुत्ता’को अन्तर्राष्ट्रिय प्रिमियर


जर्मनीमा ‘जुनुको जुत्ता’को अन्तर्राष्ट्रिय प्रिमियर

नेपालगन्ज: नेपाली सर्ट फिल्म ‘जुनुको जुत्ता’को अन्तर्राष्ट्रिय प्रिमियर ‘इन्टरनेसनल सर्ट फिल्म फेस्टिभल ओवेरहउसेन’ मा हुँदैछ । हालै मात्र यस फिल्मले अमेरिकाको लस एन्जल्स इन्टरनेसनल फिल्म फेस्टिभलको ‘इन्डि सर्ट फेस्ट’मा ‘बेस्ट चिल्ड्रेन सर्ट’ अवार्ड पाएको थियो ।

बुधबारदेखि जर्मनीमा सुरु भएको विश्वको प्रतिष्ठित र पुरानो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ६६ औं संस्करणमा यो फिल्म पब्लिक प्रदर्शन हुन लागेको हो । विश्वभरिका ६५ सयभन्दा बढी फिल्महरूबाट एक सय फिल्म छनोट हुँदा नेपालबाट केदार श्रेष्ठ निर्देशित ‘जुनुको जुत्ता’ छानिएको थियो ।

जसमा ‘जुनुको जुत्ता’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको ‘चिल्ड्रेन्स एण्ड युथ फिल्म कम्पिटिसन’ विधा अन्तर्गत आउँदो शनिबार मे १६ मा प्रिमियर हुन लागेको हो । सन् १९५४ देखि जर्मनीमा आयोजना हुँदै आएको इन्टरनेसनल सर्ट फिल्म फेस्टिभल ओवेरहउसेन यस पटक कोरोना प्रभावका कारण अनलाइन संस्करण आयोजना भएको हो ।

‘जुनुको जुत्ता’ जुत्ता, चप्पल उल्टो लगाउने सानी नानीको कथा हो । सुल्टो जुत्ता नलगाउँदा पाएको नमीठो गालीपछि उनले जुत्ता उल्टो नलगाउन गरेको उपायको खोजी फिल्ममा प्रस्तुत छ ।

Kids Festival 2022
kanti aarogya hospital

नेपालका फिल्म फेस्टिभलहरूमा पनि अवार्ड लिएको ‘जुनुको जुत्ता’ अन्य थुपै अन्तर्राष्ट्रिय महोत्सवहरूमा छनोट भइसकेको छ । ह्यापी ह्युज प्रोडक्सन, थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेन नेपालको संयुक्त निर्माण रहेको ‘जुनुको जुत्ता’लाई यशु श्रेष्ठको कथाबाट प्रभावित भएर निर्देशक श्रेष्ठ स्वयंले लेखेका हुन् ।

विभु पौडेल प्रोड्युसर रहेको फिल्ममा सरुन मानन्धरको सिनेमाटोग्राफी र विप्लपराज पोखरेलको सम्पादन रहेको छ । फिल्ममा ५ वर्षीय हिस्सी लामा, याङ्जी लामा शेर्पा, पासाङ ल्हामु लामा, खड्क कुमारी लगायतको अभिनय छ ।