File Photo
नेपालगन्ज : नेपालमा दिनानुदिन कोरोना संक्रमण बढ्दो छ । यसले अबका दिनमा स्वास्थ्य लगायत अन्य क्षेत्रमा पार्ने प्रभावको आकलन गर्न सकिन्छ ।
भारतबाट अझै पनि नेपाल भित्रनेको क्रम जारी रहेकाले क्वारेन्टिनमा रहेका व्यक्तिहरुको संख्या पनि हरेक दिन बढ्दो क्रममा छ ।क्वारेन्टिनमा भएका व्यक्तिलाई सरकारले पहिलो प्राथमिकतामा राखेर जाँचको दायरा बढाउनुपर्छ । जाँँच भएका व्यक्तिको नतिजा समेत चाँडो दिने व्यवस्था गर्नुपर्छ । जसबाट कुनै व्यक्ति संक्रमित भयो र उसलाई समयमा आइसोलेसनमा राख्न सकियो भने अरुलाई संक्रमण सर्ने दर कम हुन सक्छ ।
बुधबार मात्र सरकारले कोरोना व्यवस्थापनमा १० अर्ब रुपैयाँ खर्च भएको बताएको थियो । तर, कोरोना रोक्न बनाएका क्वारेन्टिनहरुको अवस्था हेर्ने हो भने सरकारले आफैंले बनाएको मापदण्डको एक प्रतिशत पनि पूरा गरेको छैन । क्वारेन्टिनको वास्तविकता हेर्दा त्यो रकम कहाँ खर्च भयो भन्ने गम्भीर प्रश्न उठिरहेको विज्ञहरु बताउँछन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ ७ गते जारी गरेको ‘क्वारेन्टिनमा रहेका व्यक्तिका लागि स्वास्थ्य सम्बन्धी व्यवस्था’ मा त्यहाँ हुनुपर्ने विषय उल्लेख गरेको छ । जसमा क्वारेन्टिनमा रहेका व्यक्तिहरुले पालना गर्नुपर्ने र क्वारेन्टिनमा हुनुपर्ने स्वास्थ्य व्यवस्था सम्बन्धी १६ बुँदे व्यवस्था उल्लेख छ ।
क्वारेन्टिनमा यी १६ स्वास्थ्य व्यवस्था हुनुपर्छ
१. क्वारेन्टिनमा हुनुपर्ने स्वास्थ्य व्यवस्थामा क्वारेन्टिन स्थलमा प्रतिसय जनासम्म लागि स्वास्थ्य सुरक्षा सामग्री सहित एक चिकित्सक (अन साइट/अन कल), एक नर्स र एक पारामेडिक्स उपलब्ध हुनुपर्ने,
२. प्रत्येक क्वारेन्टिनले स्थानीय कन्ट्रयाक्ट आइडेन्टिफिकेसन र कन्ट्याक्ट टे«सिङ (सिआइसिटी) टिमको समन्वयमा स्वास्थ्य व्यवस्थापन गर्ने,
३. क्वारेन्टिनमा भएका व्यक्तिको कम्तीमा दिनको २ पटक स्वास्थ्य परीक्षण गर्ने, आवश्यक परामर्श दिने र आवश्यकता अनुरुप थप स्वास्थ्य सेवाको लागि रिफरको व्यवस्था मिलाउने, रिपोर्ट गर्ने,
४. स्वास्थ्य सम्बन्धमा केही जटिलता भएमा नजिकको अस्पतालसँग समन्वय गरी उपचार व्यवस्था मिलाउने,
५. एम्बुलेन्सको सम्बन्धमा नजिकको स्वास्थ्य संस्था वा एम्बुलेन्स सेवासँग समन्वय गरी २४ घन्टा एम्बुलेन्स सेवा सुुनिश्चित गर्ने।
६. प्रत्येक क्वारेन्टिनमा अनिवार्य रुपमा कम्तीमा एक केजी अक्सिजन सिलिन्डर उपलब्ध हुनुपर्ने ।
७. क्वारेन्टिनमा रहेका बालबालिका, जेष्ठ नागरिक, गर्भवती सुत्केरी तथा दीर्घरोगीका लागि आवश्यक स्वास्थ्य सेवा तथा औषधिको व्यवस्था गर्ने ।
८. क्वारेन्टिन स्थलमा व्यक्तिगत सरसफाइ सामग्री र प्राथमिक उपचार सामग्रीको व्यवस्था मिलाउने ।
९. क्वारेन्टिनमा कम्तीमा ३ जना सरसफाइ गर्ने कर्मचारीको व्यवस्था मिलाउने, क्वारेन्टिनमा डस्टबिनको व्यवस्था गर्ने तथा क्वारेन्टिनबाट निस्किएको फोहोरलाई तोकिएको मापदण्ड अनुरुप व्यवस्थापन गर्ने ।
१०. कोभिड–१९ को संक्रमणबाट जोगिनको लागि भौतिक दूरी कायम राख्ने, नुहाउन र हात धुनका लागि पर्याप्त सफा पानी तथा साबुनको व्यवस्था गर्ने, मास्क वितरण गर्ने,
११. क्वारेन्टिन खाली भएपश्चात् २४ घन्टासम्म प्रयोगमा नल्याउने र सफाइपछि मात्र प्रयोग गर्ने ।
१२. क्वारेन्टिन स्थलमा सफा खानेपानी तथा स्वस्थ खानेकुराको व्यवस्था तालिका अनुसार मिलाउने ।
१३. एक खाटदेखि अर्को खाटको बीचमा न्यूनतम दूरी कम्तीमा १ मिटरको हुनुपर्ने, आवश्यकता अनुसार झुलको व्यवस्था गर्ने ।
१४. भौतिक दूरी कायम राख्दै शारीरिक व्यायाम, मनोपरामर्श सम्बन्धी क्रियाकलाप सञ्चालन गर्ने ।
१५. क्वारेन्टिन स्थलमा प्रवेश गर्नुपर्ने अवस्थामा व्यक्तिगत सुरक्षा सामग्री अनिवार्य रुपमा लगाउने ।
१६. क्वारेन्टिनमा रहने व्यक्तिहरुलाई क्वारेन्टिनमा राख्नुपूर्व र क्वारेन्टिनबाट जाँदा स्वास्थ्य अवस्था जाँच गर्ने र रिपोर्ट गर्ने ।
क्वारेन्टिनमा रहेका व्यक्तिले सम्बन्धित क्वारेन्टिनबाट जारी गरेका आचारसंहिता अनिवार्य रुपमा पालना गर्ने र कोभिड–१९ को संक्रमणबाट जोगिनको लागि भौतिक दूरी कायम राख्ने, बेलाबेलामा साबुन–पानीले हात धुने र मास्कको प्रयोग गर्ने व्यवस्था गरेको छ ।