नेपालगन्ज: नागरिकले यतिबेला आरडिटी परीक्षणको विश्वास गर्न छोडेका छन् । आरडिटी परीक्षण नेगेटीभ देखिएर घर फर्केकाहरूमा समेत कोरोना संक्रमण देखिएपछि आरडिटीमा अविश्ववास उत्पन्न भएको हो । जसको पछिल्लो उदाहरण दैलेखमा क्वारेन्टिनबाट घर फर्काइएको दुई दिनपछि १ सय १३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
दैलेखको नारायण नगरपालिकामा मात्रै आरडिटी परीक्षणको नतिजाको आधारमा घर पठाइएका ९५ जनामा कोरोना संक्रमण पुष्टि खुलेको छ । यो समस्या दैलेखका साथै बाँके, बर्दिया, झापामा पनि देखिएको छ ।
नारायण नगरपालिकामै संक्रमित भएको थाहा नभएका करिब ७० जना घरमै रहेका र उनीहरुलाई सम्पर्क गरेर छुट्टै राख्ने तयारीमा जुटिरहेको नारायण नगरपालिकाका मेयर रत्नबहादुर खड्का बताउँछन् ।
आरडिटी परीक्षणको नतिजाको आधारमा ढुक्क भएर घरमा गएका उनीहरुबाट समुदायमा कोरोना संक्रमण फैलिने जोखिम भएको उनले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रोटकलअनुसार आरडिटी परीक्षणमा नेगेटिभ नतिजा आएकालाई घरमा पठाउने उल्लेख गरिएको छ ।
मन्त्रालयको प्रोटकललाई आधार मानेर आरडिटी परीक्षणमा नेगेटिभ आएकालाई घरमा पठाउदा गाउँ नै जोखिममा परेको हो । भारतबाट आएका ९५ जना संक्रमतिलाई १३ दिन भन्दा बढि क्वारेन्टिनमा राखेर स्वाब संकलन गरी पिसिरआर विधिबाट परीक्षण गर्न पठाउँदा समयमै नजिता नआएका कारण संक्रमणको जोखिम झन् बढेको उनले बताए ।
पिसिआर परीक्षणको नतिजा आउन ढिला भएपछि आरडिटी परीक्षण गरेर उनीहरुलाई पठाइएको उनले बताए । घर पठाइएकामध्ये १ सय १३ जनाको पिसिआर विधिबाट परीक्षण नतिजा पोजेटिभ आएको २ दिन अघि मात्रै थाहा पाएको उनले बताए । क्वारेन्टाइमा बस्नेहरुको ८ दिनअघि मात्र पिसिआर विधिबाट परीक्षण गर्न स्वाब संकलन गरी सुर्खेत पठाइएको थियो । सुर्खेतमा प्राविधिक समस्या भएका कारण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको उनले बताए ।
प्रतिष्ठानबाट नतिजा आउन ढिला भएपछि आरडिटी परीक्षण गरेर उनीहरुलाई घर पठाइएको हो । स्थानीय स्रोत साधनले मापदण्डअनुसार क्वारेन्टिन–आइसोलेसन बनाउन समस्या भइरहेको समेत उनले बताए । संंक्रमितहरु घरमा गएका कारण दीर्घरोगी, ज्येष्ठ नागरिक र बालबालिकामा संक्रमण फैलिएर भयाबह हुने अवस्था सृजना भएको जनप्रतिनिधिहरु बताउन थालेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार संक्रमितलाई सम्र्पकमा ल्याएर आइसोलेसनमा राख्ने तयारी भइरहेको छ । स्वाब संकलन गरेर पिसिआर विधिबाट परीक्षणमा पठाएको १७ दिनसम्म नतिजा नआउँदा समस्या भएको छ ।
दैलेखमा हाल ९ हजार ३ सय ४२ जना क्वारेन्टाइनमा छन् । ३ सय ५२ जना आइसोलेसनमा रहेका छन् । क्वारेन्टिनमा बसेकालाई पिसिआर विधिबाट परीक्षण गर्न समेत समस्या भएको छ ।