मेरो पालो कहिले आँउछ !

भेरीमा कोरोना जाँचका लागि स्याम्पलको चाङ्ग, परीक्षण गर्नै धौ–धौ


मेरो पालो कहिले आँउछ !

नेपालगन्ज : देशभर कोरोना संक्रमित ग्राफ बढेर आएकोछ । यकातिर सरकारले कोरोना संक्रमण जाँचको दायरा बढाउन नसकेको आरोप खेपिरहेकोछ भने अर्कोतर्फ संक्रमितलाई समेत बाचा कसम खुवाएर घर फर्काइरहेकोछ ।

कोरोना जस्तो माहामारिका बेला आम नागरिकको स्वास्थ्यप्रति जिम्मेवार नबन्दा क्वारेन्टिन तथा आइसोलेसनबाट डिस्चार्ज भइ घर गएका ब्यक्तिहरुमा कोरोना संक्रमण देखिनुका साथै मृत्यु भइरहेको खबर हामीमाझ प्रष्टछ ।

कोरोना भाइरस संक्रमितको सहि समयमा पहिचान हुन नसक्नु, सबैको परीक्षण नगरिनु लगायतको सरकारको गैरजिम्मेवार रवैयाका कारण आम नागरिक कोरोनाको जोखिममा परेकाछन् । अझ सरकारको लाचरीपन, गैरजिम्मेवारी तथा फोहोरी कार्यले त मृत्यु भइसकेको थुप्रैदिनपछि कोरोना संक्रमित पुष्टि हुनुले पनि नेपालमा कोरोनाको महामारीले अनिष्टता ल्याउने पक्काछ ।

कोरोना भाइरस संक्रमण पुष्टि गर्न सरकारले देशभरका विभिन्न स्थानमा कोरोना जाँच केन्द्र स्थापना गरि काम गरिरहेको छ । तर, सिमित स्रोत साधन तथा जनशक्तिका कारण कोरोना जाँचको कार्यलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सकेको छैन । सरकारको यस्तो रवैयालाई हेर्दा जनताको पीर नभइ सत्ता बचाउने र सम्पत्ती लुट्ने बाहेक अरु केही नभएको प्रष्ट हुन्छ ।

बाँकेको भेरी अस्पतालमा रहेको कोरोना संक्रमण जाँच केन्द्रमा यतिबेला परीक्षणका लागि आएको कोरोना नमुनाको चाङ्गले त्यस्तै पुष्टि गरेकोछ ।

भेरी अस्पतालमा रहेको उक्त कोरोना जाँच केन्द्रले बाँकेको मात्र नभइ आसपासका जिल्लाबाट आउने कोरोनाका नमुनालाई समेत परीक्षण गर्ने गर्छ । एक दिनमा बढिमा एक सय जनाको कोरोना नमुना परीक्षण गर्न सक्ने ल्याकत राख्ने नेपालगन्ज भेरी अस्पतालको कोरोना ल्याबले स्रोत साधन, परीक्षण किट तथा जनशक्ति अभावका कारण त्यो आँकडामा परीक्षण नभइरहेको प्रष्ट छ । यस्तो अवस्थामा बाँकेको मात्र होइन अन्य जिल्लाबाट आएका कोरोनाको नमुनाको परीक्षण हुन सकिरहेकोछैन ।

बाँकेको भेरी अस्पतालमा परीक्षण हुन आएका कोरोनाको नमुनाको चाङ्गले मेरो पालो कहिले आँउछ भन्दै कुरेर बसेको प्रष्ट छ । कोरोना संक्रमण जाँचका लागि बाहिरी जिल्लाबाट धेरै मात्रामा नमुना आउँदा बाँकेका नमुना परीक्षण समेत प्रभावित बनेकोछ ।

बाहिरी जिल्लाबाट दैनिक रुपमा धेरै स्याम्पल आउँदा भेरी अस्पताल पीसिआर युनिटलाई काम गर्न गाह्रो भएको र कामको अत्याधिक भारका कारण बाँके जिल्लाका स्याम्पलको परीक्षण समेत समयमै गर्न असहज भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठ बताउँछन् ।

उनका अनुसार कोरोना जाँचका लागि आएका सबै स्याम्पललाई जतिसक्दो छिटो पालो मिलाएर जाँच गरिरहेकाछौं । तर, प्रयाप्त मात्रामा साधनस्रोत तथा अन्य स्वास्थ्य सामाग्री अभावका कारण परीक्षण कार्य तिव्र हुन सकेकोछैन ।

भेरी अस्पताल नेपालगन्जका मेसु डाक्टर प्रकाश थापाले भने–‘बाँके र बर्दियाका स्याम्पलको मात्र काम गर्न पाए भनेपनि रिजल्ट दिन सहज हुन्थ्यो । तर, प्रदेश ५ र कर्णाली प्रदेशका जिल्लाहरुबाट पनि दिनहुँ ठूलो मात्रामा नमुना परीक्षणका लागि स्याम्पल आइरहेका छन् यसले गर्दा कार्यभार बढेकोछ । छिटो रिपोर्ट दिन गाह्रो भइरहेकोछ ।’

उनले भने–‘स्वास्थ्य सुरक्षा अपनाएर यतिबेला भेरी अस्पतालको पीसिआर मेशिनबाट २४ सैं घण्टा दुई सिफ्टमा परीक्षण भइरहेकोछ ।’ उनले अगाडी थपे–‘परीक्षण गर्दा नमुना नेगेटिभ आएको खण्डमा परीक्षणको दर बढ्छ । तर, पोजेटिभ देखिएमा समय बढी लाग्छ ।’  अझ पनि बाँकेका विभिन्न पालिकामा बनाइएका क्वारेन्टिमा रहेका थुप्रै मानिसहरुको कोरोना जाँच हुन बाँकी रहेकोछ ।