File Photo
नेपालगन्ज: स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार क्वारेन्टिनमा अहिले १ लाख ७० हजार ७ सयबढी नागरिक छन् । उनीहरूमध्ये धेरैजना भारतमा घर फर्किएका हुन् ।
सरकारले अब क्वारेन्टिनमा रहेका सबैको पीसिआर परीक्षण आवश्यक नभएको भन्दै १४ दिन राखेर आरडीटीमार्फत परीक्षण गरी घर पठाइरहेको छ । तर, आरडीटीमार्फत नेगेटिभ आएर घर फर्किएका व्यक्ति कोरोना संक्रमण भएर मृत्यु भएको घटना बढिरहेको छ । सरकारले गरेको यस्तो निर्णय अवैज्ञानिक भएको भन्दै जनस्वास्थ्य विज्ञहरूले आपत्ति जनाएका छन् ।
प्रदेश १ मा ४ हजार ३ सय ८८, प्रदेश २ मा २२ हजार २ सय ३२, बागमती प्रदेशमा ३ हजार १ सय ९५, गण्डकी प्रदेशमा ५ हजार ३ सय ६३ जना क्वारेन्टिनमा रहेका छन् । प्रदेश ५ मा ३९ हजार ८ सय ९७, कर्णाली प्रदेशमा ३२ हजार ८२, सुदूरपश्चिम प्रदेशमा ६३ हजार ५ सय ७५ जना क्वारेन्टिनमा छन् ।
उनीहरू सबै परीक्षणको पर्खाइमा छन् । आरडीटीबाट परीक्षण गर्नुको कुनै औचित्य नभएको चिकित्सकहरू नै बताउँछन् । सरकारले क्वारेन्टिनमा भएका मानिसलाई पीसिआर परीक्षण नै नगरी घर पठाउँदा हजारौंको संख्यामा कोरोना सर्ने जोखिम हुने देखिएको छ । प्रदेश ५ मा मात्रै ५ हजार २१ नमुनाको रिपोर्ट आउन बाँकी रहेको भेरी अस्पतालका प्रमुख डाक्टर प्रकाशबहादुर थापा बताउँछन् ।
प्रदेश ५ मा तीनवटा प्रयोगशालामा कोरोना परीक्षण हुँदै आएको छ । जनशक्ति अभावले समयमै सहज परीक्षण हुन सकेको देखिदैन् । रूपन्देहीस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा १ हजार १ सय ५१ नमुना परीक्षण गर्न बाँकी छ । भेरी अस्पताल प्रयोगशालामा पनि नमुना थन्किएका छन् । भेरी अस्पताल प्रयोगशाला अनुसार ७ सय ७४ नमुना परीक्षण गर्न बाँकी छ ।
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ हजार ३ सय ९५ नमुनाको रिपोर्ट आउन बाँकी छ । प्रदेश ५ बाट नमुना संकलन भई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको ५ सय ९९ नमुनाको रिपोर्ट आउन बाँकी रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयले बताउँछ ।