File Photo
नेपालगन्ज: नेपालगन्ज शिक्षण अस्पताल कोहलपुर पुनः सील गरिएकोछ । गत हप्त मात्रै सील गरिएको कोहलपुर मेडिकल कलेजमा उपचाररत एक बिरामीमा कोरोना संक्रमण देखिएपछि अस्पताल पुनः सील गरिएको हो ।
बिरामीमा कोरोना संक्रमण देखिएपछि कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजको सर्जरी वार्ड सिल गरिएको छ । उक्त वार्डलाई डिसइन्फेक्ट गर्नका लागि आईतबार एक दिनका लागि सिल गरीएको अस्पतालका सहायक निर्देशक डाक्टर नितेश कनोडिया बताँउछन् ।
उनका अनुसार अस्पताल सील गरिएपनि अस्पतालका अन्य सेवा भने सुचारु छन् । १० दिन अघि अस्पतालमा भर्ना भएका एक बिरामीमा कोरोना भाइरसको संक्रमण देखिएपछि अस्पतालमा कार्यतर डाक्टर, नर्स सहित २५ जनालाई होम क्वारेन्टिनमा राखिएको छ ।
‘बिरामीको अवस्था सामान्य छ,’ उनले भने ‘उनलाई अस्पतालको कोभिड वार्डमा सारिएको छ ।’ उनले प्रोटोकल अनुसार नै अस्पतालले बिरामीको उपचार सेवा अगाडि बढाएको जानकारी दिए ।
यसअघि जेठ २६ गते सोमबार अछामबाट उपचारका लागि कोहलपुर ल्याईएकी एक महिलामा कोरोना संक्रमण देखिएपछि अस्पताल सील गरिएको थियो । ती गर्भवती महिलाको आन्द्रामा समस्या देखिएपछि उनलाई हेलिकप्टरमार्फत उपचारकालागि कोहलपुर ल्याईएको थियो ।
कोहलपुरमा उपचार गराईरहेकी ती महिलाको कोरोना परीक्षण गर्दा संक्रमण देखिएपछि बिरामीको उपचारमा संलग्न डाक्टर, नर्स र सहयोगी सहित १४ जनालाई क्वारेन्टिनमा राखिएको र अस्पताललाई पूर्ण रुपमा सेनिटाईज नगर्दासम्म सील गरिएको थियो ।