तलब नपाएका मेडिकल कलेजका कर्मचारी श्रम कार्यालयदेखि सिडिओ कार्यालयसम्म


तलब नपाएका मेडिकल कलेजका कर्मचारी श्रम कार्यालयदेखि सिडिओ कार्यालयसम्म

नेपालगन्ज: नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरु खाइपाई आएको तलबभत्ता नपाएपछि व्यवस्थापन बिरुद्ध मैदानमै उत्रिएका छन् ।करिब १५ सय कर्मचारी रहेको मेडिकल कलेजमा उनीहरुले नियमित तलब नपाएपछि कहिले आन्दोलन त कहिले प्रशासनको ढोका ढक्ढक्याई रहेका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय बाँके लगायत सम्बन्धित सबै निकायमा उजुरी दर्ता गराएका छन् ।

विगत ६ महिनाको अवधिमा मेडिकल कलेजका कर्मचारीले आधा दर्जन त विज्ञप्ती नै निकाली सकेका छन् । नेपालगन्ज मेडिकल कलेज अन्र्तगत तीन वटा कर्मचारी संघ, संगठन छन् । कर्मचारी संघ, कर्मचारी संगठन र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियन रहेका छन् ।
विदा कटौती र तलब नपाएको भन्दै नेपालगन्ज मेडिकल कलेजका ती तीनवटै कर्मचारी संघ÷संगठनहरु श्रम कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयको ढोकासम्म पुगेका छन् । सेतोखरीसँग ती तीन वटै यूनियन तथा नर्सिङ्गहरुले निकालेका विज्ञप्तीहरु सुरक्षित रहेकाछन् ।

अहिले मेडिकल कलेजका कर्मचारीहरु अन्य सुविधा त परै जाओस् तलब पनि नपाएर काम गरिरहेकाछन् । नेपाल ट्रेड युनियन काँग्रेस बाँकेका अध्यक्ष रामबहादुर मल्लले नेपालगन्ज मेडिकल कलेजले कर्मचारीमाथि ज्यादती गरेको बताए । मेडिकल कलेजले सरकारको नियम कानून नै उल्लङ्घन गरी कर्मचारीमाथि अन्याय गरेको बताए ।

‘हामी यो लडाई मेडिकल कलेज व्यवस्थापनसँग लड्छौं, आज मिटिङ्ग बस्दैछौं । अध्यक्ष मल्लले भने –‘कर्मचारीको विदा कटौती गरिदिने, तलब नदिने, सरकारको नियम नमान्ने यस्तो पनि हुन्छ । भोली यो दिन्न भन्ला त्यो दिन्न भन्ला यो त तरिका भएन नी । कति सहेर बस्ने ।’
कर्मचारी संघका सभापति यमबहादुर खड्का, कर्मचारी संगठनका कार्यबाहक सभापति मुस्लिम खान र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियनका अध्यक्ष मुनीर खानले विज्ञप्ती प्रकाशित गरी तलब सुबिधा नपाएको जनाएका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

विज्ञप्तीमा नेपाल राजपत्रमा प्रकाशित–२०७७ बैशाख १५ गते को सूचना अनुसार, चैत्र महिनाको सार्वजनिक विदा कायम गरी तलब खुवाउन दिएको निर्देशन अटेर गरी नेपालगन्ज मेडिकल कलेजले हामी कर्मचारीहरुलाई सार्वजनिक विदा पनि नदिएको र तलब पनि नखुवाएको उल्लेख छ ।

जोखिम भत्ता पनि नपाउने गरेको, १३ महिनाको तलब दिंदै आएकोमा जबरजस्ती ‘फोर्स लिभ’ बस्न लगाई १ महिनाको तलब कटौती गरिदिएको कर्मचारीहरुले गुनासो गरेका छन् । उनीहरुले पटक–पटक व्यवस्थापनसँग कुरा राख्दा पनि वेवास्ता गरेको बताएका छन् ।

कर्मचारी यूनियनहरुले उजुरी हालेपछि श्रम तथा रोजगार कार्यालय बाँकेले २०७७ जेठ १४ गते नेपालगन्ज मेडिकल कलेजलाई पत्र समेत पठाएको छ । पत्रमा भनिएको छ ‘नेपाल राजपत्रको भाग ५ मा प्रष्ट व्यवस्था भएको हँुदा त्यस प्रालि अन्र्तगत कार्यरत कर्मचारीहरुको लकडाउन अवधिभरको विदालाई सार्वजनिक विदा कायम गरी नेपाल सरकारको निर्णय बमोजिमको पारिश्रमीक उपलब्ध गराउनु ।’

ती कर्मचारी यूनियनहरुले जिल्ला प्रशासन कार्यालय बाँकेमा पनि उजुरी दर्ता गराएका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्ज मेडिकल कलेजलाई २०७७ जेठ २२ गते निर्देशनात्मक पत्र काट्दै लकडाउन अवधिभरको सार्वजकिक विदा र तलब भत्ता उपलब्ध गराउन निर्देशन दिएको छ ।

सबै निर्देशनको अवज्ञा गर्दै नेपालगन्ज मेडिकल कलेजले सार्वजनिक विदा समेत नदिई कटौती गरिदिएको, कतिपयको तलब नै काटिदिएको, तलब नदिएको, भत्ता नदिएको कर्मचारीहरुले सेतोखरीसँग बताएका छन् । तल्लो तहका कर्मचारीले त झन् थुप्रै महिनादेखि तलब नपाएको उनीहरुले बताए ।

नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरुले राहत बाँडेको प्रति आपत्ति नभइ कर्मचारीलाई भोकै राखेर मेडिकल कलेजको लोगो राखेर राहत वितरण गरेकोमा आपत्ति भएको बताए । नाम गोप्य राखिदिन भन्दै कर्मचारी यूनियनका पदाधिकारीले सेतोखरीसँग भने –‘राहत बाँड्नु राम्रो कुरा हो, कसैको घर बनाउनु पनि राम्रो कुरा हो । कनोडिया परिवारले व्यक्तिगत जतिसुकै राहत बाँडुन हाम्रो विरोध छैन । तर, मेडिकल कलेजमा ज्यान जोखिममा राखेर काम हामीले गर्ने अनि हामीलाई भोकै राखेर मेडिकल कलेजको तर्फबाट राहत र पैसा बाँड्ने ? यो सह्य हुँदैन ।’ कुरा बाहिर नलग्न समेत व्यवस्थापनले धम्की दिइ रहेको कर्मचारीहरुले बताए । जानकारी दिने कर्मचारीको नाम राखिदिंदा धम्क्याउने हुँदा नाम गोप्य राखिएको छ ।

यो पनि पढ्नुहोस्

‘नेपालगन्ज मेडिकल कलेजका कर्मचारी भोकै, कनोडिया राहत बाँड्दै’

आर्थिक संकटमा नेपालगन्ज मेडिकल कलेज