तीन दशकपछि गोपाल गाउँ फर्के


तीन दशकपछि गोपाल गाउँ फर्के

सोलुखुम्बु : घर छाडेर हिँडेको करिब ३० वर्षपछि नेचासल्यान–३ का गोपाल नेपाली गाउँ फर्केका छन् । नेपाल रेडक्रस सोसाइटी र नेचासल्यान गाउँपालिकाको संयुक्त प्रयासमा करीब ५० वर्षीय नेपालीलाई गाउँ ल्याइएको हो ।

विसं २०४७ तिर घर छाडेको बताउने नेपाली केही दिन अगाडि वीरगञ्ज आएपछि प्रहरीमार्फत त्यहाँको स्थानीय सरकारले क्वारेन्टिनमा राखेको थियो ।

क्वारेन्टिनमा रहेकाको पहिचान गर्ने क्रममा उनले सोलुखुम्बुको नेचा घर बताएका थिए । नेपाल रेडक्रस सोसाइटीको पारिवारिक सम्पर्क पुनःस्थापना केन्द्रमार्फत उनको स्थायी ठेगाना पहिचान शुरु गरिएको थियो ।

सामाजिक सञ्जालमार्फत उनको फोटो पोष्ट गरेपछि पहिचान भएको र १४ दिन वीरगञ्जको क्वारेन्टिनमा बसेका नेपालीलाई जन्मस्थल नेचा ल्याइएको गाउँपालिका अध्यक्ष डुफकुमार बाँस्तोलाले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital

नेपाल रेडक्रस सोसाइटी उपशाखा नेचाका सभापति रोहित बाँस्तोलासहितको टोलीले उनको उद्धार गरी जिल्ला ल्याएपछि मङ्गलबार गाउँपालिकाको जिम्मा लगाइएको छ । गाउँपालिकाको क्वारेन्टिनमा १४ दिन राखेपछि मात्रै परिवारको जिम्मा लगाइने गाउँपालिकाले जनाएको छ । 

उच्च जोखिमयुक्त क्षेत्रबाट आएका नेपालीको पिसीआर र आरडिटी रिपोर्ट नेगेटिभ आएपछि अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्ने गाउँपालिका अध्यक्ष बाँस्तोलाको भनाइ छ । गाउँघरका व्यक्तिमध्ये भुपाल किराँतीको नाम लिन सक्ने गोपाल नेपालीले लामो समयपछि गाउँ आउन पाएकामा खुशी व्यक्त गरे ।

उनले उद्धारमा खटिने नेपाल रेडक्रस र गाउँपालिकालाई धन्यवाद व्यक्त गरे । भारतको पञ्जाबमा खेतीकिसानी गर्दै आएको बताउने नेपाली अब नेपालमै बस्ने बताउँछन् ।

यस्तै वि.सं २०७२ को महाभूकम्पको बेला सम्पर्कविहीन थुलुङदूधकोशी गाउँपालिका–५ जुबुका मीनबहादुर बस्नेत पनि परिवारको सम्पर्कमा आएका छन् । काठमाडौं बस्दै आएका बस्नेत पाँच वर्षदेखि सम्पर्कविहीन भएको उनका भाइ धिरेन्द्रले बताए ।

‘कोरोनाका कारण हाम्रो दाजु सम्पर्कमा आउनुभयो’, उनले भने–, ‘काठमाडौंको नयाँ बसपार्क क्षेत्रको एक होटलमा बसेको छु भन्ने खबर आयो, अहिले फोन सम्पर्क भइरहेको छ ।’

कोरोनाको कारण खर्चसमेत अभाव भएको र अस्वस्थ भएपछि परिवारको सम्पर्कमा आएको मीनबहादुरको भनाइ छ । लकडाउन खुलेर सहज वातावरण निर्माण भएपछि गाउँघर आउने उनले बताए । विवाह गरी बालबच्चासमेत भएका बस्नेत यो भन्दा अगाडि कहाँ कसरी बस्नुभएको थियो भन्नेबारे केही पनि खुलाउन चाहेनन् । -रासस