भेरी अस्पतालबिरूद्ध उजुरी परेपछि अख्तियारद्वारा छानविन शुरू

कोरोना टेष्ट उपकरण खरिदका कागतजातसहित स्पष्टिकरण पेश गर्न ७ दिनको अल्टीमेटम


भेरी अस्पतालबिरूद्ध उजुरी परेपछि अख्तियारद्वारा छानविन शुरू

नेपालगन्ज : अख्तियार दुुुुुुुुुरुपयोग अनुसन्धान आयोगले भेरी अस्पतालमामाथि छानबिन सुरु गरेको छ । कोरोना भाइरस टेस्ट गर्ने मेशिन लगाएत विभिन्न मेडिकल उपकरण खरिदमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले भेरी अस्पतालमा छानविन थालेको हो ।

संघीय सरकार मातहत रहेको भेरी अस्पताल विरूद्ध अख्तियारमा उजुरी दर्ता भएको छ । अख्तियारका दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगन्जका सूचना अधिकारी लोकमणी पाण्डेले बायो मेडिकल ईकुपमेन्ट लगायतका मेडिकल उपकरण र औजारहरू टेण्डरबीनै खरिद गरी आर्थिक चलखेल तथा अनियमितता गरेको भन्दै भेरी अस्पताल विरूद्ध अख्तियारमा उजुरी दर्ता भएको बताए ।

दुई दिनअघि दर्ता भएको उक्त उजुरीमा कोभिड–१९ को निहुँमा अस्पतालले खरिद गरेका उपकरण तथा औजारहरू सरकारको खरिद ऐन तथा नियमावली विपरित टेण्डरबिनै खरिद गरेको उल्लेख गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारमा उजुरी दर्ता भएपछि भेरी अस्पतालसँग उक्त उजुरीका बारे स्पष्टिकरण सोधिएको अख्तियारका सूचना अधिकारी पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार–‘अख्तियारले ७ दिनको म्याद दिएर भेरी अस्पताललाई बायो मेडिकल ईकुपमेन्ट कागजजात खरिद रसिद, टेण्डर आव्हानको प्रक्रियासँग खरिदको प्रक्रियाका बारे स्पष्ट लिखित जवाफ पठाउन अख्तियारले बुधबार पत्राचार गरिसकेको छ ।

‘अहिले स्पष्टिकरण सहितका कागतजात माग गरिएको छ ।’ अख्तियारका सूचना अधिकारी पाण्डेले भने –‘अस्पतालले कागजातसहित स्पष्टिकरण पेश गरेपछि अख्तियारले आवश्यक अनुसन्धानको प्रक्रिया अघि बढाउँछ ।’ भेरी अस्पतालमा कोरानाको टेष्टका तथा अन्य प्रयोजनका लागि करोड माथिको मेडिकल उपकरण खरिद गरिएको छ ।

उक्त उजुरीमा भेरी अस्पतालमा बायो मेडिकल ईकुपमेन्ट खरिदमा मात्र नभई अस्पतालकै अन्य उपकरण औजार तथा विविध सामग्री खरिदमा पनि चरम आर्थिक चलखेल हुँदै आएको उल्लेख गरिएको पाण्डेले जानकारी दिए ।

अस्पतालमा दरबन्दी अनुसार कर्मचारीले आफनो दरबन्दीभन्दा फरक ढंग र पदमा बसेर काम गर्दा यहाँ आर्थिक चलखेल बढ्नेक्रम विगतदेखि अहिलेसम्म नरोकिएको भन्दै उक्त उजुरीमा तत्काल आवश्यकीय अनुसन्धान गर्न माग गरिएको अख्तियारले जनाएको छ ।

भेरी अस्पतालका मेडिकल सुपेरिटेण्डेन्ट डाक्टर प्रकाशबहादुर थापाले उजुरी परेको स्वीकार्दै अख्तियारले सामान्य सोधपुछ गरेको बताए । उनले भने ‘हामीहरू गलत छैनौ त्यसैले उजुरी पर्दैमा हतासिनु पर्दैन ।’ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रमोद धितालसँग यस बिषयमा बुझन खोज्दा उनीसँग सम्पर्क हुन सकेन् ।