नेपालगन्ज : नेपालगन्जमा चौथो शिव साधना शिविर हुने भएको छ । शिवरात्रीको विशेष अवसर पारेर उक्त शिविर सञ्चालन गरिन लागेको हो । परम उद्धारकर्ता संकटमोचन स्वरुप गुरु मदनबाबाको सानिध्यतामा आगमी फागुन १६ देखि २० गते सम्म नेपालगन्ज १० भृकुटिनगरको खुला चउरमा शिविर सञ्चालन हुनेछ ।
श्री पिण्डेश्वर शिव लक्ष्मीधाम, तुल्सीपुरको तथा शिव साधना आयोजना मुल समिति, नेपालगन्जको आयोजनामा पाँच दिने शिवरात्री विशेष चौथो शिव साधना हुने भएको हो । शिव भगवानको पूजा र आरधाना गर्ने विशेष दिन शिवरात्रीका अवसर पारेर आयोजना गरिएको साधनाका क्रममा साधकहरु प्रार्थना, ध्यान, जप, सत्सङ र योगमा लिन हुनुका साथै परम उद्धारकर्ता संकटमोचन स्वरुप गुरु मदनबाबाका मुखारविन्दबाट सत्मार्गमा लाग्न जीवन उपयोगी प्रवचन सुन्ने अवसर प्राप्तहुनेछ ।
साधनाको अन्तिमदिन पितृहरुको उद्धार एव्म साधक साधिकामा विद्यमान रोग, दोष, विध्नबाधाबाट मुक्ति प्राप्त गर्न महारुद्री अनुष्ठान सहितको सवा करोड ज्योती प्रज्वलन पनि गरिने साधना आयोजन मुल समितिका संयोजक हरि सुवेदीले जानकारी दिए । श्री पिण्डेश्वर शिवलक्ष्मीधामका परम उद्धारकर्ता संकटमोचन स्वरुप गुरु मदनबाबाको सानिध्यतामा आयोजना हुने साधनामा नेपाल र भारतका गरी १ हजार बढीको सहभागिता हुने मुल समितिका संयोजक सुवेदीले जानकारी दिए ।
यसअघि साधनालाई व्यवस्थित र भव्यरुपमा सम्पन्न गर्नका लागि बिभिन्न समितिहरु समेत गठन गरिएको छ । जसमा आर्थिक व्यवस्थापन, प्रचार प्रसार, स्वागत तथा सत्कार, भोजन व्यवस्थापन, आवास, मञ्च तथा टेन्ट व्यवस्थापन, दैनिकपूजा, रुद्री र सवाकरोड ज्योती प्रज्वलन, खानेपानी तथा सरसफाइ, सुरक्षा र कार्यसम्पादन समिति गठन गरिएको प्रचार प्रसार समितिका संयोजक ओबिराज आचार्यले जानकारी दिए । उनले छुट्टाछुट्टै समितिहरुले सक्रियताका साथ कार्य अघि बढिरहेको बताए ।
यसअघि शिविरमा सहभागि भई स्वास्थ्य लाभ लिएका प्रचारप्रसार समितिका संयोजक ओबिराजले कार्यक्रमका सहभागी हुदाँ नकारात्मक सोंचाइ त्याग्ने, शरीरमा नकरात्मक सोंचका कारण परेका असरहरु कम हुने, तनाव कम भै सकारात्मक उर्जा बढ्दै जाने र जीवनमा कार्य सिद्धी प्राप्त हुनेमा विश्व ब्यक्त गरे । शिविरमा सहभागिताका लागि जुनसुकै धर्म, पेशा, जातजाति, भाषा, संस्कृतिका साथै जनुसुकै उमेरका व्यक्तिहरु सहभागीहुन सक्ने आयोजकले जनाएको छ ।