छाला सम्बन्धि स्वास्थ्य शिविरमा परामर्श दिदैं छाला रोग विशेषज्ञ डाक्टर बद्री चापागाइ । तस्विर : कमल न्यौपाने /सेतोखरी
नेपालगन्ज : डुडुवा गाउँपालिकामा रहेको जयेन्दु बाल सुधार गृहमा शनिबार स्वास्थ्य शिविर गरिएको छ । उक्त शिविरमा ७३ जना बालकको स्वास्थ्य परीक्षण गरिएको छ । गृहमा अहिले एक सय एक जना बालक बस्दै आएका छन् ।
गृहमा बसेका बालकहरूमा छाला सम्बन्धी समस्या देखिएपछि भेरी अस्पतालका वरिष्ठ छाला रोग बिशेषज्ञ डाक्टर बद्री चापागाईको नेतृत्वको स्वास्थ्य टीमले ती बालकहरूको स्वास्थ्य परीक्षण गरेको हो ।

छाला सम्बन्धी परीक्षण पछि उनीहरूलाई आवश्यकता अनुसार औषधी वितरण समेत गरिएको स्वास्थ्य परीक्षणमा संलग्न डाक्टर चापागाईले बताए ।
भेरी अस्पतालका डाक्टर चापागाईको सक्रियतामा उक्त बाल सुधार गृहमा शनिबार एकदिने छाला रोग सम्बन्धी स्वास्थ्य शिविर आयोजना गरिएको कार्यक्रमको सहजिकरण गरिरहेका प्रियास्मृति ढकालले जानकारी दिए ।
उक्त शिविरमा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूङवा, बाँकेका प्रहरी प्रमुख ओम राना, कानून व्यवसायी बसन्त गौतम, युनिसेफका वालसंरक्षक अधिकारी रामप्रसाद गौतम, भेरी अस्पताल व्यवस्थापन समितिका सदस्य सरस्वती गौतम लगायतको सहभागीता थियो ।