नेपालगन्ज : कर्णाली प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र दैलेखमा पीसिआर मेशिन भित्रिएको छ । दैलेख क्षेत्र नम्बर एकका संघीय सांसद तथा नेकपा दैलेखका अध्यक्ष रविन्द्रराज शर्माको सक्रियता, पहल र संघीय सरकारसँगको अडानका कारण दैलेखको सदरमुकाम दैलेख बजारमा पीसिआर मेशिन भित्रिएको हो ।
पछिल्लो समय सबैभन्दा वढी कोरोना संक्रमित देखिएको दैलेख यसको उच्च जोखिममा छ । जिल्ला उच्च जोखिममा रहेपछि आम नागरिकको स्वास्थ्य परीक्षणमा सहजता आओस् भनि सांसद रविन्द्रले पीसिआर मेशिनका लागि लबिङ थालेका थिए ।
उनको सक्रियताकै कारण उक्त लबिङ पुरा भएको छ । अब दैलेखी जनताले दैलेखमै कोरोना संक्रमणको जाँच गर्न सक्ने र रिर्पोटका लागि सुर्खेत र नेपालगन्जको भर पर्न नपर्ने भएको छ । दैलेखी जनमनका नेता रविन्द्रले एक करोड ६ लाखको लागतमा दैलेखमा पीसिआर मेशिन ल्याइएका हुन् ।
सेतोखरीका कार्यकारी सम्पादक कमल न्यौपानेसँग आईतबार कुराकानी गर्दै संघीय सांसद रविन्द्र शर्माले सरकारद्वारा कोरोनाको परीक्षणमा ढिलाई भएपछि दैलेख निर्वाचन क्षेत्र नम्बर १ को निर्वाचन क्षेत्र पुर्वाधार विकास कोषको रकमवाट पीसिआर मेशिन ल्याईएको बताए । कोरोनाको संक्रमण दिन प्रतिदिन बढ्न थालेपछि दैलेखी जनताको स्वास्थ्यको ख्याल राख्दै मेशिन ल्याइएको उनी बताउँछन् ।
कर्णाली प्रदेशमा संक्रमणको जोखिम बढेको र परीक्षण मेशिन कम भएकाले कोरोना परीक्षणको रिपोर्ट ढिलो आउने गरेकाले दैलेखमा मेशिन आवश्यक रहेको संघीय सांसद शर्माले बताए । उनका अनुसार केन्द्रिय निर्देशक समितिको निर्णय अनुसार निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषबाट एक हजार किट र पीसिआर मेशिन ल्याउन सफल भएको हो ।
केहि दिनमै मेशिन जडान गरी दैनिक तीन सय जनाको परीक्षण हुने संघीय सांसद शर्माले बताए । ५५ हजार घरधुरी रहेको दैलेखका बस्तीलाई परीक्षणको दायरा बढाई निर्मूलीकरण गरिने भएको छ ।
नारायण नगरपालिका दैलेखले मेशिन खरिदको लागि टेण्डर गरेसंगै मेशिन ल्याउने पक्रिया छिटो छरितो भएको हो । ‘महामारीको चपेटामा परेको दैलेखमा परीक्षण मेशिन आएसँगै जिल्लाबासीमा कोरोना संक्रमणबाट सुरक्षित छौं भन्ने आभाष हुनेछ,’ सघीय सांसद शर्माले भने, ‘अब दैलेखी जनता धरै आत्तिहाल्नुपर्ने स्थिती केहि हदसम्म हट्नेछ । यसमा सबैले साथ दिन जरुरी देखिन्छ ।’
एक हजार किटले मात्र नपुग्ने बताउँदै सांसद शर्माले अब प्रदेश, केन्द्र र अन्य सहयोगी निकायसंग समन्वय गरेर किटको लागि पहल गर्ने बताए । जिल्लाबासीको लागि आफू हरदम तयार रहेको बताउँदै शर्माले आम नागरिक नआत्तिकन आफ्नो स्वास्थ्यको ख्याल राख्न अनुरोध गरेका छन् ।
कोरोना रिपोर्ट ढिला आएकाले क्वारेन्टिनमा बढि विवाद भएका बेला दैलेखमा पीसिआर मेशिन ल्याउनुमा संघीय सांसद रविन्द्रको योगदान रहेको भन्दै दैलेखी जनताको लागि यतिबेला यो भन्दा खुसीको कुरा अरू हुन नसक्ने नारायण नगरपालिकाका वडा नम्बर ६ निवासी दुर्गा रेग्मी बताउँछन् ।
उनकाअनुसार मेशिन आईसकेकोले ढिला नगरी यसको जडान गर्नुपर्ने आमनागरिकको स्वास्थ्य परीक्षण शुरू गर्नुपर्ने देखिएको छ । पीसिआर मेशिन आएपछि यतिबेला दैलेख आमनागरिकमा खुशीयाली छाएको छ । दैलेखी जनमनका वास्तविक नेता रविन्द्र नै भएको पनि प्रष्ट देखिएको नागरिकहरू बताउँछन् ।