नेपालगन्ज : बाँकेमा रहेका सरकारी तथा नीजि अस्पतालमा विरामीको चाप घट्दै गएको छ । विरामी अभावका कारण बाँकेमा रहेका अधिकाशं अस्पतालहरू रित्तै देखिएका छन् ।
अघिपछि भरिभराउ देखिने यहाँका अस्पताल आजभोली सुनसान जस्तै छन् । आकस्मिक कक्ष र अन्य केही वार्डहरूमा सामान्य विरामी छन् । तर, अधिकाशं वार्ड र कक्षहरू विरामीको पखाईमा छन् ।
यहाँका भेरी, नेपालगन्ज र कोहलपुर मेडिकल कलेज लगायतका स्वास्थ्य संस्थामा कोरोनाका विरामी देखिएपछि उक्त संक्रमण सर्ने त्रासले अन्य रोगका विरामी समेत स्वास्थ्य परिक्षणका लागि अस्प्तालमा आएका छैनन् । कोभिड १९ संक्रमणका कारण अन्य रोगका विरामीको संख्यामा कमी आएको हो ।
अस्पतालमा स्वास्थ्य परीक्षण गराउँने मध्ये कतिपयमा कोरोना पोजेटिभ देखिएपछि कोरोना सर्ने त्रासले अन्य विरामी उपचारका लागि अस्पतालमा आउन छोडेको अस्पतालहरू बताउँछन् ।
कोहलपुर मेडिकल कलेजमा दुई जना कोरानाका विरामीको निधन भएपछि अहिले उक्त अस्पतालमा विरामी ह्रवात्तै घटेको अस्पताल प्रशासनले बताएको छ ।

करिब आठ सयको हाराहारीमा बेड रहेको उक्त अस्पतालमा आजभोली दिनमा ३० जना भन्दाबढी विरामी नभएको अस्पतालको रेकर्डले देखाएको छ । कलेजमा दुई जना कोरोना सक्रमितको मृत्यु भएपछि अहिले इमरजेन्सी बाहेकका अधिकाशं वार्ड र आईसियू सील गरिएको छ ।
कोरोना संक्रमणका कारण अन्य रोगका विरामी आउने क्रम रोकिएपछि अस्पतालको आम्दानी पनि घटेको छ । विरामी नभएकै कारण स्वास्थ्यकर्मी तथा कर्मचारी कामविहीन अबस्थामा छन् ।
कर्णाली, सुदूर र प्रस्तावित लुम्बिनी प्रदेशको रेफर सेन्टरको रूपमा रहेको भेरी अस्पतालमा पनि कोरोना संक्रमणकै कारण विगतको तुलनामा आजभोली विरामीको चाप घटेको छ । अस्पतालमा ओपीडी (बहिरंग) सेवा लिन आउने विरामीहरुको संख्या भने न्यून छ ।
अस्पतालले बहिरंग लगायतका अन्य सेवा सञ्चालनमा ल्याएको छ । तर, कोरोना त्रासकै कारण विरामीको भीडभाड छैन । विगतमा भने भेरी अस्पतालमा दैनिक तीनदेखि चार/पाँचसय जनाले उपचार सेवा लिने गरेको अस्प्तालका प्रमुख डाक्टर प्रकाशबहादुर थापा बताउँछन् ।
ओपीडी सेवा सुचारू भएपछि दीर्घरोगी तथा नियमित चेकजाँच गर्नैपर्ने विरामीलाई भने सहज भएको छ । तर, विरामी कम भएका कारण उपचारमा भने पहिलेभन्दा सहज भएको सेवाग्राही नीता थापा बताउँछिन् ।
कोरोना विशेष अस्पताल तोकिएपछि खजुराको क्यान्सर असप्तालमा त पुरै सेवा सुविधा बन्द जस्तै छ । भौतिक दुरी कायम गरेर सेवा प्रदान गरे पनि जोखिमकै कारण व्यवस्थापनमा केही जटिलता देखिएको छ ।
बाँकेको नेपालगन्जमा मात्रै सरकारी भेरी अस्पताल सहित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, सिद्धार्थ अस्पताल, वेष्र्टन लगायत दर्जनबढी अस्पताल सञ्चालन छन् । अहिले यी सबै अस्पतालमा विरामीको चाप घटेको अस्पताल प्रशासनहरू बताउँछन् ।
बाँकेमा भेरी अस्पतालसहित क्षेत्रीय प्रहरी अस्पताल, सैनिक अस्पताल नेपालगन्ज नर्सिङ होम लगायत अन्य १५ बढी निजी नर्सिङ होम कोहलपुर मेडिकल कलेज छन् । जसमा करिब एक हजार एक सयबढी बेड रहेको अस्पतालहरूको रेकर्डमा उल्लेख छ ।