डायलासिस सेवा विस्तार गर्दै भेरी


डायलासिस सेवा विस्तार गर्दै भेरी

File Photo

नेपालगन्ज : अहिले दुईवटा मेशिनको भरमा चलेको डायलासिस युनिटको क्षमता विस्तार गरिने भएको छ । भेरी अस्पतालमा रहेको उक्त युनिटमा यसअघि चारवटा डायलासिस मेशिन थिए ।

केही समयको प्रयोगपछि दुईवटा मेशिन बिग्रिएका हुन् । ती बिग्रिएका मेशिनको अस्पतालले अहिलेपनि मर्मत सम्भार गर्न चासो देखाएको छैन् । त्योहुँदा अहिले उक्त युनिट दुईवटा मेशिनको भरमा चलिरहेको छ । तर, अब केही समयमै सोही युनिटमा नयाँ दुईवटा मेशिन थप्ने तयारी भैरहेको अस्पतालका प्रमुख डाक्टर प्रकाशबहादुर थापा बताउँछन् ।

भेरीमा सुपेरिटेण्डेन्ट भएपछि सरसफाई तथा यहाँको बाहिरी सौन्दर्यकरण व्यवस्थापनमा सक्रिय देखिएका डाक्टर थापाको सक्रियता र पहलमा प्रदेश सरकारले उक्त दुईवटा मेशिन उपलब्ध गराउने भएको हो ।

डायलासिस युनिटमा दुईवटा मेशिन थपिएपछि अहिलेको तुलनामा दोब्बर विरामीले सहज रूपमा उपचार पाउने भएका छन् । अहिले सञ्चालनमा रहेका दुईवटा मेशिनबाट हप्तामा १२ जना किड्नीका विरामीले नियमित डायलासिस सेवा लिइरहेको युनिट इन्चार्ज डाक्टर पारस श्रेष्ठ बताउँछन् ।

Kanti Aarogya Hospital Nepalgunj

उनकाअनुसार अब दुईवटा मेशिन थपिएको खण्डमा थप १२ जनाले नभए एउटा मेशिन स्टकमा राखेर तीनवटा मेशिनबाट हप्तामा नियमित १८ जनासम्मलाई सहजैै डायलासिस सेवा प्रदान गर्न सकिन्छ ।

मिर्गौला सम्बन्धी समस्या भएका बिरामीहरु भेरी अस्पतालमा पालो नपाएर नीजि अस्पतालमा महँगो रकम तिरेर उपचार र डायलासिस गर्न बाध्य छन् । दरबन्दीअनुसार विशेषज्ञ चिकित्सकको भने उक्त युनिटमा अभाव छ ।

मेसिन मर्मत गरेर साथै नयाँ थप गरेर अस्पतालमा २४ सै घण्टा डायलिसिस सेवा शुरू गर्नुपर्ने मिर्गौला पीडितहरुको माग छ । मेसिनको अभावमा राज्यले निःशुल्क उपलब्ध गराएको डायलिसिस सेवा लिन पालो कुरेका बिरामी थप पीडित बनेका छन् ।

हेमोडायलिसिस युनिटमा उपचारका लागि डायलिसिस मेसिन, दक्ष जनशक्ति र आवश्यक कोठा थप गर्न अस्पताल प्रशासनसँग माग गरेको डाक्टर श्रेष्ठले बताए । अहिले २३ जना विरामी डायलिसिसका लागि पालो कुरेर बसेको श्रेष्ठ बताउँछन् ।

डायलासिस सेवा विस्तारसँगै अस्पतालको समग्र सधुारका लागि प्रयास भैरहेको अस्पतालका प्रमुख डाक्टर थापाले बताए । उनकाअनुसार पाँचवटा शव अट्ने फ्रिज सञ्चालन, फोहरको सेक्रिकेसन र अटो क्ल्याप गरि अस्पतालको फोहर ब्यबस्थापन, साउन १ गते देखि अस्पतालमा पार्किङ निःशुल्क गर्ने लगायतका योजना पनि तयार भैरहेका छन् ।

स्मरणहोस् : भेरी अस्पतालमा सबैभन्दा पहिला कर्मचारीको व्यवस्थापन नगरेसम्म यहाँको कुनै पनि काम पारदर्शी, मितव्ययी र योजनाअनुसारको सफलता प्राप्तीको सम्भावना कम देखिएको छ । यहाँ कार्यरत कर्मचारीलाई सबैभन्दा पहिला आ-आफनो दर्जा र तहअनुसार सोही अनुरूपको काममा लगाउँन जरूरी देखिएको भेरीमै कार्यरत कतिपय कर्मचारी बताउँछन् ।

यहाँ कार्यालय सहयोगीले दर्ताचलानी, पुजारीले स्टोर र कम्प्युटर अप्रेटरले प्रशासन तथा स्टोर हाँक्ने सम्मका काम भैरहेको अस्पतालकै एक कर्मचारीले नाम नछाप्ने सर्तमा बताए । ती कर्मचारीले भने ‘अस्पतालको सुधारका लागि बाहिरी रंगरोगन होइन पहिला कार्यालय भित्र कर्मचारीको हालिमुहाली र मनपरी नियन्त्रण गरिनुपर्छ ।’