डाक्टरसहित ९ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण, प्रदेश अस्पतालद्वारा आकस्मिकबाहेकका सेवा बन्द


डाक्टरसहित ९ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण, प्रदेश अस्पतालद्वारा आकस्मिकबाहेकका सेवा बन्द

सुर्खेत : कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत चिकित्सकसहित नौ स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएपछि अस्पतालले आकस्मिकबाहेकका सेवा बन्द गरेको छ ।

अस्पतालले बिहीबार साँझ विज्ञप्तिमार्फत् सेवाग्राहीको सुरक्षालाई मध्यनजर गर्दै आकस्मिकबाहेकका सेवा बन्द गरेको जनाएको छ। अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काका अनुसार पिसिआर विधिबाट गरिएको परीक्षणका क्रममा विशेषज्ञ चिकित्सकसहित प्रयोगशाला, एक्सरे फाँटमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको हो । संक्रमित स्वास्थ्यकर्मीलाई प्रदेश अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यसैबीच, आत्महत्या गरेका दैलेखका एक युवाको कोरोना परीक्षणको नतिजा पोजेटिभ आएको छ । दुल्लु नगरपालिका–१० छुवालाका २१ वर्षीय युवाको प्रदेश अस्पताल÷पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा बिहीबार पिसिआर परीक्षण गरिएको थियो। जेठ ११ गते भारतबाट आएका उनलाई १४ दिन क्वारेन्टिनको बसाइँपछि आरडिटी परीक्षणको नतिजा नेगेटिभ आएपछि घर पठाइएको थियो ।

दुल्लुका नगर प्रमुख घनश्याम भण्डारीले शव व्यवस्थापनका लागि नेपाली सेनासँग समन्वय गरिरहेको बताए । यसअघि भारतबाट फर्किएकी सुर्खेत सिम्ता गाउँपालिकाकी एक युवतीमा पनि कोरोना पोजेटिभ देखिएको थियो । -रासस