File Photo
नेपालगन्ज : नेपालगन्जस्थित कारागारका थुनुवा र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणबाट उनीहरुमा कोरोना भाइरस पोजेटिभ पाइएको हो ।
नेपालगन्ज कारागारमा चोरी मुद्दामा धरौटी बुझाउन नसकेपछि बन्दी जीवन विताइरहेका नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–६ फुल्टेक्राका २८ वर्षीय एक युवा र कारागार सुरक्षामा रहेका एक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
विरामी परेपछि थुनुवालाई भेरी अस्पताल लगिएको र आइसोलेशन वार्डमा राखेर दुई रात उपचार गरिएको थियो । थुनुवाको शरीरमा रगतको कमी भएपछि अस्पताल लगिएको जेलर देवेन्द्र श्रेष्ठले जानकारी दिए ।
कोरोनाको शंका लागेर थुनुवालाई छुट्टै राखेर पीसीआर जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको हो । उनीसँगै गएका प्रहरीको पनि रिपोर्ट पोजेटिभ आएकोले दुबै जनालाई आइसोलेशन सेन्टरमा लगिएको कारागार प्रशासनले जनाएको छ ।
७ सय ७७ जना थुनुवा रहेको नेपालगन्ज कारागारमा प्रशासनले लकडाउन अघिनै भेटघाटमा रोक लगाएको थियो । उनको सम्पर्कमा आएकाहरुको स्वाब लिने तयारी भएको बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।