नेपालगन्ज : बन्दाबन्दीकाबीच रगत अभावले कसैको मृत्यु हुन नपरोस भन्दै पछिल्लो समय रगतदानमा विभिन्न संघसंगठन सक्रिय हुन थालेकाछन् ।
कोरोना भाइरस महामारिकाबीच ब्लड बैंकमा नियमित रक्तदाताहरुले पनि रगत दान नगर्दा संचित रगत घट्दै गएपछि यहाँ स्थित विभिन्न संघसंस्थाको सक्रियता बढेकोछ ।
यसैशिलशिलामा नेपालगन्जमा शनिबार बृहत रक्तदान गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँके र सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा शनिबार नेपालगन्जमा बृहत रक्तदान गरिएको हो ।
नेपालगन्जको गणेशमान चोकस्थित प्रहरीको लागु औषधविरुद्ध निःशुल्क परामर्श केन्द्रमा गरिएको रक्तदान कार्यक्रममा नेपाल प्रहरी र ट्राफिक प्रहरीका सिनियर र जुनियर अधिकृत लगायत जवानहरुले रक्तदान गरेकाछन् । प्रहरीको बृहत रक्तदानमा तीन जना सर्वसाधरण सहित ९८ जना प्रहरी गरि जम्मा १ सय १ जनाले रक्तदान गरेका थिए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको प्रमुख आतिथ्यतामा भएको उक्त रक्तदानमा बोल्दै उनले रक्तदान स्वास्थ्यका दृष्टिकोणले पनि महत्वपूर्ण कार्य रहेको बताए ।
उनले भने–‘यो सामाजिक कार्य जोसुकैले पनि गर्न सक्छ । रगत अभाव हुन नदिन तथा रगतकै कमीका कारण जटिल प्रकृतीका विरामीको ज्यान बचाउन यसले महत्वपूर्ण भूमिका खेल्ने बताए ।’
प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्गले भने–‘ब्यक्तिगतरुपमा पनि रक्त सञ्चार केन्द्रमा आफ्ना विशेष दिनलाई स्मरण गर्दै रक्तदान गर्ने बानिको विकास गर्दै जानुपर्छ ।’ उनले थपे–‘एकातिर आफ्ना विशेषदिन पनि मनाइने त्यो सगैं रक्तदानले कसैलाई जिवनदान हुने । यसअर्थमा यो दुवै कार्य पुण्यको कार्य हो ।’
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जिल्लाको शान्ति सुरक्षा तथा अमनचयनसगैं सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहेको बताए ।
रक्तदान कार्यक्रममा बोल्दै उनले भने–‘प्रहरी जनताको सेवक भएका कारण दुर्घटना, सुत्केरी तथा अन्य कारणबाट हुने बिरामीहरुको जीवन बचाउने उद्देश्यका साथ कोरोना महामारिका बीचमा रगत अभाव हुन नदिन बृहत रक्तदान गरिएको हो ।’ बाँके प्रहरी प्रमुख रानाले भने–‘रगतदान सामाजिक मात्र नभइ धार्मिक दृष्टिकोणले सेवा भएको हुदाँ स्वस्फूर्त सबैले नियमित रक्तदान गर्नुपर्छ ।’
सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष शशी स्वाँरको अध्यक्षतामा रक्तदान कार्यक्रम गरिएको थियो । केन्द्रकी अध्यक्ष स्वाँरले रक्तदान तथा रगत संकलन कार्यमा खटिएका प्रहरी, सर्वसाधरण तथा स्वास्थ्य एवम प्राविधिक टोलीलाई धन्यबाद दिएकी थिइन ।
जिल्ला प्रहरी कार्यालय बाँके र सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त रुपमा आयोजित उक्त रक्तदान कार्यक्रममा भैरव प्रसाद गणका प्रमुख कर्नेल नकुल थापा, जिल्लाका विभिन्न प्रहरी इकाईका प्रमुखहरु र सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।