File Photo
नेपालगन्ज : कोरोना भाइरसको संक्रमणको अवस्था पत्ता लगाउन प्रदेश पाँच सरकारले पीसिआर परीक्षण शुरु गरेकोछ ।
समुदाय स्तरमा कोरोना भाइरसको संक्रमणको अवस्था पत्ता लगाउन भिडभाड बढी हुने क्षेत्रका व्यक्तिको पीसिआर परीक्षणको कार्य प्रदेश पाँच सरकारले आजबाट शुरु गरेको हो ।
प्रदेश पाँच सरकारले ६ जिल्लाबाट स्वाब संकलन गर्दै परीक्षण गर्न लागेको हो । परीक्षणको काम आजबाट शुरु हुने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
समुदायस्तरसम्म कोरोना भाइरस फैलिएको वा नफैलिएको पत्ता लगाउनका लागि अधिक जनसम्पर्क हुने स्थानमा रहेका व्यक्तिबाट नमुना संकलन कार्य शुरु गर्न लागिएको हो ।
मन्त्रालयका अनुसार बैंक तथा वित्तीय संस्था, अत्यावश्यक सामग्री बिक्री वितरण गर्ने पसल, स्वास्थ्यकर्मी र जनसमुदाय स्तरका १ हजार २ सय व्यक्तिको नमुना संकलन गरिनेछ ।
प्रदेश ५ मा मंगलबार बिहानसम्म ४ हजार ९९ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये ३ हजार ७ सय ७१ जना संक्रमणमुक्त भएका छन् । भने १३ जना संक्रमितको मृत्यु भइसकेको छ । पहिलो चरणमा अर्घाखाँची, नवलपरासी पश्चिम, रूपन्देही, बर्दिया, कपिलवस्तु र दाङमा नमुना संकलन हुनेछ ।