एकैदिन ६०९ कोरोना संक्रमित डिस्चार्ज


एकैदिन ६०९ कोरोना संक्रमित डिस्चार्ज

File Photo

नेपालगन्ज : नेपालमा एकै दिन ६०९ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा देशभरबाट ६०९ जना व्यक्तिहरु कोरोना संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना जित्नेको संख्या १२ हजार ४ सय ७७ पुगेको छ ।

पछिल्लो समय देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ । हाल सक्रिय संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढी छ ।
देशभर हालसम्म ५ हजार ४ सय ७७ जना सक्रिय संक्रमित छन् भने निको हुनेको संख्या १२ हजार ४ सय ७७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर १५० जना थप कोरोना भाइरस संक्रमित थपिएपछि कूल संक्रमितकोे संख्या भने १७ हजार ९ सय ७४ पुगेको छ । हालसम्म ४० संक्रमितको मृत्यु भएको छ ।

प्रदेश अनुसार हेर्दा हालसम्म सबैभन्दा धेरै संक्रमित प्रदेश नम्बर २ मा देखिएका छन् । प्रदेश २ मा हालसम्म ४ हजार ८८५ जनालाई कोरोना संक्रमण भएको छ । जससध्ये २ हजार ७६६ जना निको भइसकेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै कोरोना संक्रमित हुने दोस्रो नम्बरमा प्रदेश नम्बर ५ बन्न पुगेकोछ । प्रदेश पाँचमा ४ हजार १ सय ९८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ३ हजार ८ सय १८ जना संक्रमणमुक्त भइसकेका छन् ।

यसैगरि कोरोना संक्रमित हुने तेस्रो स्थानमा सुदूरपश्चिम प्रदेश बनेकोछ । सुदूरपश्चिम प्रदेशमा ४ हजार १ सय २७ जनालाई कोरोना संक्रमण भएको छ । तीमध्ये २ हजार १२९ जना निको भइसकेका छन् ।

कर्णाली प्रदेशमा १ हजार ५७ जना संक्रमितमध्ये १ हजार ५४० जना संक्रमण मुक्त भइसकेका छन् ।

गण्डकी प्रदेशमा हालसम्म १ हजार ४०३ संक्रमितमध्ये १ हजार २० जना संक्रमणमुक्त भएका छन् । बागमती प्रदेशमा ८८२ संक्रमितमध्ये ४५२ जना संक्रमणमुक्त भइसकेका छन् ।

प्रदेश १ मा सबैभन्दा कम संक्रमित देखिएका छन् । प्रदेश १ मा हालसम्म ८६० संक्रमितमध्ये ७५२ संक्रमित निको भइसकेका छन् ।