सेनेटरी प्याडमै दैलेख शिक्षा शाखाको ‘कमिसन चक्कर’


सेनेटरी प्याडमै दैलेख शिक्षा शाखाको ‘कमिसन चक्कर’

शिक्षा शाखा रहेको दैलेखस्थित नारायण नगरपालिका : तस्विरसौजन्यः शेरबहादुर थापा

नेपालगन्ज : कर्णाली प्रदेशको दैलेखमा सरकारी विद्यालयले नै सेनिटरी प्याड खरिदमा कमिशनको चक्कर चलाउँदै आएको खुलेको छ । नारायण नगरपालिका दैलेखको शिक्षा शाखाले नगरका १७ वटा विद्यालयलाई सुरुमा सेनेटरी प्याड खरिद गर्न भनेर असार १७ वटा विद्यालयको खातामा पैसा जम्मा गर्न लगाएको थियो । तर, शिक्षा शाखा आफैंले सेनेटरी प्याड खरिद गर्दै विद्यालयलाई बिल थमाएको खुल्न आएको छ । यसबाट कार्यालयले कमिशन लिएको विद्यालयले आरोप लगाएका छन् ।

बजेट फ्रिज जाने भन्दै असार मसान्तमा नगरपालिकाले विद्यालयमा किशोरीहरूका लागि आवश्यक सेनेटरी प्याड खरिदका लागि नगरपालिकाको १७ विद्यालयमा २१ लाख ७९ हजार रूपैँया जम्मा गरेको थियो । साउन लागे संगै नगरपालिका शिक्षा शाखाले कमिसन पाउने लोभमा प्रतिस्पर्धाबिनै सुर्खेतको एक सप्लायर्सबाट प्याड खरिद गरेको भेटिएको छ । सामानसँगै सप्लायर्सले विद्यालय पिच्छे सेनेटरी प्याड र बिलहरू पठाएपछि दैलेखका विद्यालयहरूले असहमति जनाएका छन् ।

नगरपालिका भर रहेका ६ देखी १२ कक्षासम्म पढ्ने छात्राहरुका सेनेटरी प्याड खरिदको कार्यक्रम गत आर्थिक वर्षमा नगरपालिकामा आएको थियो ।

सेनेटरी प्याड खरिदका लागि पैसा विद्यालयको खातामा रहेपनि नगरपालिकाले सेनेटरी प्याड किनेर विद्यालयमा एक्कासी ल्याएर भुक्तानी अहिले सप्लायर्सले मागिरहेको छ । विद्यालयले कोटेशन तथा सुचना निकालेर खरिद गर्ने कार्ययोजना रहेको सदरमुकामको त्रिभुवन माध्यमिक विद्यालय दैलेखका प्रधानाध्यापक निरक तारामीले भने ‘नगरपालिकाले सामान ल्याएको छ । अव, के गर्ने गाह्रो भयो ।’ सामान विद्यालयमै पठाएर भुक्तानीका लागि विक्रेता आउने गरेको अर्का एक विद्यालयका एक प्रधानाध्यापकले गुनासो गरेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

विद्यालय आफैले खरिद गर्नुपर्ने सेनेटरी प्याडमा दैलेखको नारायण नगरपालिकाले आफै खरिद गरेको छ । कमिसनको खेलमा नगरपालिका शिक्षा शाखाले रारा मेडिसिन सप्लायर्स सुर्खेतबाट सुचना र कोटेशन विना विद्यालयको नाममा खरिद गरेको हो ।

सामान खरिदको लागि विद्यालयको खातामा पैसा पठाइएकोले विद्यालयले नै सेनेटरी प्याड खरिद गर्नुपर्ने नारायण नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत छविलाल नेपाली बताउँछन् ।

खरिदबारे आफुहरुलाई थाहा छैन प्रमुख प्रशासकिय अधिकृत नेपालीले भने ‘तर, नगरपालिकाले खरिद गरेर विद्यालयमा पठाउन भने मिल्दैन ।’ सवै प्रअहरूलाई नगरपालिकामा बोलाएर शिक्षा शाखा प्रमुख हिमालयजंग शाहले नगरपालिकाबाटै खरिद गरेर विद्यालयमा उपलब्ध गराउने बताएको एक प्रधानाध्यापकले नाम उल्लेख नगर्ने शर्तमा बताए ।

मोटो कमिसनको लोभमा सवै विद्यालयको सामान नगरपालिका मार्फत किनिएको भन्दै अहिले विद्यालयहरूले विरोध गरेका छन् । २१ लाख ७९ हजार रूपैँयामा १७ विद्यालयका लागि कम्पनीसँग आफुहरुले कुरा गरेर मगाइदिएको नारायण नगरपालिका शिक्षा शाखा प्रमुख हिमालयजंग शाहीले बताए । उनले भने, ‘सजिलो होस् भनेर सामान मगाइपनि विद्यालयले किन्ने या नकिन्ने निर्णय स्वयम् लिन सक्छ ।’ पैसा फ्रिज हुन लागेकाले आफुहरुले कोटेशन नलिई एउटा कम्पनीबाट मगाएको शाहीले बताए ।

निम्न माध्यमिक विद्यालयहरुमा ४० हजारदेखि माध्यमिक विद्यालयमा १ लाख ५० हजारसम्म बजेट सेनेटरी प्याड किन्नका लागि नगरपालिकाले पैसा पठाएको नगरपालिकाका प्रमुख नेपाली बताउँछन् ।