File Photo
नेपालगन्ज : राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म ८२ हजार ३ सय ३० वटा नमूनाको पीसिआर परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रेकर्डअनुसार प्रस्तावित लुम्बिनी प्रदेशको बाँके स्थित भेरी अस्पतालमा १९ हजार नमूनाको पीसीआर परीक्षण भएको छ ।
नमूना परीक्षणको संख्यात्मक हिसाबले भेरी अस्पताल देशमै दोस्रो स्थानमा देखिएका छ । तर, बाँकेको जम्मा जनसंख्याको हिसाबले जति हुनुपर्ने थियो त्यति नमूना परीक्षण हुन नसकेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठ बताउँछन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान १८ हजार ७६६ वटा नमूना परीक्षण गरी तेस्रो भएको छ । १८ हजार ३२१ वटा नमूना परीक्षण गरेर सुर्खेत प्रादेशिक अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत चौथो तथा पाँचौमा १६ हजार २७३ वटा नमूना परीक्षण गरेर सेती प्रादेशिक अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला धनगढी रहेको छ ।
देशभर सञ्चालनमा रहेका पीसीआर परीक्षण प्रयोगशालामध्ये सबैभन्दा कम पीसीआर परीक्षण हुनेमा नेपाल पुलिस अस्पताल प्रयोगशाला काठमाडौंमा ३९१, लुम्बिनी प्रादेशिक प्रादेशिक अस्पताल बुटवल ८०९ र स्टार अस्पताल प्रयोगशाला सानेपा ललितपुरमा ८९५ वटा पीसीआर परीक्षण भएको स्वास्थ्य मन्त्रालयको रेकर्डमा छ ।
मन्त्रालयका अनुसार साउन १० गतेसम्म देशभर सञ्चालनमा रहेका २८ वटा प्रयोगशालाबाट तीन लाख ३९ हजार १५७ वटा नमूना परीक्षण भएका छन् ।