नेपालगन्ज : प्रस्तावित लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सञ्चालन हुँदै आएका एम्बुलेन्सहरुलाई व्यवस्थित गर्न जीपीएस प्रणाली जडान गरिने भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयले ल्याएको यो नियमले सेवाग्राहीलाई पनि फाइदा पुग्ने छ । सेवाग्राहीले समेत एम्बुलेन्स रहेको स्थानदेखि खाली रहे/नरहेको जानकारी पनि सहजै पाउने निर्देशनालय बताउँछ ।
एम्बुलेन्स सेवालाई प्रभावकारी, गुणस्तरीय र भरपर्दो बनाउन एम्वुलेन्सको वास्तविक स्थान र अवस्था पहिचान गरी आकस्मिक बिरामीलाई छिटो सुविधा दिन प्रदेशका ६० वटा एम्बुलेन्सहरुमा जिपीएस डिभाइस जडान गरेको प्रदेश स्वास्थ्य निर्देशनालयले बताएको छ ।
निर्देशनालयका अनुसार एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले प्लेस्टोरमा रहेको ‘एम्बुलेन्स नेपाल’ नामको एप डाउनलोड गरी अनलाइनमा गएर आफ्नो नजिक रहेको एम्बुलेन्सको जानकारी पाउनेछन् । यसका लागि जीपीएस लोकेशन अन राख्नुपर्नेछ । एपमा देखाएको एम्बुलेन्समा क्लिक गरेपछि एम्बुलेन्स कति टाढा छ भन्ने थाहा हुने प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद कुमार गिरी बताउँछन् ।
मोबाइल एपमै एम्बुलेन्स चालकको नम्बर देखिने र सम्पर्क गरेर एम्बुलेन्स बोलाउन सकिने उनले बताए । उनका अनुसार यो सेवा मन्त्रालयले सोझै पनि दिनेछ । निर्देशनालयले शुरु गरेको २४ घण्टे हटलाईन टेलिफोन सेवाबाट पनि यो जानकारी पाइनेछ ।
सेवाग्राहीले निर्देशनालयको सेवा लिनका लागि ०७१/४२०४९६ मा सम्पर्क गर्न सक्ने निर्देशनालयले जनाएको छ। यो प्रविधि जडानपछि सेवाग्राहीलाई ठग्ने, झुट बोल्ने र सेवा नदिने एम्बुलेन्स चालकहरुलाई निरुत्साहित गरी एम्बुलेन्सलाई सेवामूलक बनाउन प्रविधि प्रभावकारी हुने विश्वास गरिएको छ । प्रदेशमा विभिन्न संघ संस्थाहरुले सञ्चालन गरेका एम्बुलेन्सहरु सहित झण्डै ३ सय ५० एम्बुलेन्सहरु सञ्चालनमा रहेका छन् ।