राजधानीसहित देशका पूर्वी भागमा बिहीबार रातिदेखि मौसम बदली भएको छ। रातिदेखि नै आकाशमा बादल लागेका कारण काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम बिहीबारभन्दा ४ डिग्री बढी मापन भएको छ।
मौसम पूर्वानुमान महाशाखाकी मौमसविद् शान्ति कँडेलका अनुसार बिहीबार ३.३ डिग्री मापन भएको काठमाडौंको न्यूनतम तापक्रम शुक्रबार ७ डिग्री पुगेको छ।
‘बादलले घुम्टोको काम गरेकाले हावा बहन पाउँदैन र न्यूनतम तापक्रम बढ्छ,’ कँडेलले भनिन्, ‘तर यसले दिउँसो तापक्रम धेरै बढ्न दिदैँन र उच्चतम तापक्रम घट्छ।’ बिहीबार काठमाडौंको उच्चतम तापक्रम १९ डिग्री थियो।
मौसमविद् कँडेलका अनुसार बिहीबार बिहानैदेखि देखा परेको बादल पूर्ण रूपमा आइतबारमात्र हट्नेछ।
‘केही दिनअघिको पेथाई आँधीले भारतका विभिन्न ठाउँमा वर्षा भयो। त्यसपछि लागेको घामले वाष्पिकरण भएर बादल लागेको हो,’ कँडेलले भनिन्, ‘आज र भोलि बादल हुन्छ, बेलाबेलामा घाम पनि लाग्छ तर पानी पर्ने सम्भावना छैन।’