‘अंगाली देऊ’ का संगीतकार समाजसेवी डाक्टर
एक विरामी बालकको स्वास्थ्य परीक्षण गर्दै डाक्टर नवराज केसी । तस्वीर सौजन्य : शेरबहादुर केसी
नेपालगन्ज : कर्णाली क्षेत्र अहिले पनि स्वास्थ्य, शिक्षा, खानेपानी लगायतका विकास सेवा र पहुँचबाट अलि परैछ । शिक्षा र खानेपानीको जर्जर अवस्थाभन्दा पनि यहाँको स्वास्थ्य अबस्था र नागरिकको कमजोर पहुँच महाजर्जर बनिरहेको छ ।
सडक सञ्जालले मुगु बाहेकका जिल्लालाई सुर्गम बनाएपनि स्वास्थ्य संस्थामा पुग्न अहिले पनि यहाँका नागरिकले २–४ घण्टाको पैदल यात्रा गर्नुपर्ने बाध्यता छ । यद्दपी स्वास्थ्य संस्थामा पुग्दा स्वास्थ्यकर्मी नभेटिने रोग त दीर्घकालिन नै बनिसकेको छ ।
विशेषज्ञ डाक्टर कर्णालीको प्रदेश राजधानी सुर्खेतकै अस्पतालमा आउनै मान्दैनन् । कर्णालीका अन्य जिल्लाको त कुरा छोडौं । यस्तो अबस्थामा सुर्खेतका युवा डाक्टर नवराज केसी निरन्तर कर्णालीबासीको सेवामा लागिपरेका छन् ।
६०० ग्राम जन्मिएको बच्चालाई जीवितै राख्न सफल बालरोग विशेषज्ञ डाक्टर केसी सुर्खेतको प्रदेश अस्पतालका चिकित्सक हुन् । एसओएस हर्मन माइनर विद्यालय सुर्खेतबाट २०५५ सालमा एसएलसी उत्तीर्ण गरेका उनले ललितपुरको निष्ट कलेजमा आईएस्सी अध्ययन गरेका हुन । बाँकेको कोहलपुरबाट आंशिक छात्रवृत्तिमा एमबीबीएस पूरा गरेका डाक्टर केसीले फिलिपिन्स सरकारको छात्रवृत्तिमा नेसनल चिल्ड्रेन अस्पतालबाट एमडी गरेको बताउँछन । डाक्टर केसीको अबको लक्ष्य कर्णाली प्रदेशमा बालबालिका र महिलाका लागि विशेषज्ञ सेवा सहितको अस्पतालका साथै अपाङ्गता भएका बालबालिकाका लागि विद्यालय सञ्चालनमा ल्याउने छ ।
कोरोना महामारीमा सल्यान, रुकुम पश्चिम र जाजरकोट जिल्ला हेर्ने जिम्मा पाएका डाक्टर केसी बिरामी बचाउन डोल्पा र हुम्लासम्म पुगेको बताउँछन् । संगीतकार बन्ने चाहाना बोकेका केसी समाजसेवी डाक्टरको पहिचान बनाउन सफल भएका छन् । बुवाले डाक्टर बनेर दुर्गमका बिरामीको सेवा गर्नुपर्छ भनेपछि उनले बुवाको चाहना र अनुरोध नकार्न सकेनन् । अहिले उनी त्यहि पेशामा सक्रिय छन् ।
२०६५ सालमा उनले ‘अंगाली देऊ’ नामको एल्वम बजारमा ल्याएका थिए । आफैंले रचना तथा संगीत भरेको एल्वमबाट भएको आम्दानी उनले द्वन्द्वपीडित बालबालिकाको पढाइमा खर्चिएको उनी बताउँछन् । थोरै भए पनि अधुरो संगीतको यात्रालाई पूरा गरेको उनी बताउँछन् । चिकित्सकीय र सामाजिक सेवाबाट बचेको समय गीत सिर्जना र संगीत भर्नमा लगाउँने उनी बताउँछन् ।

कर्णाली प्रदेश सरकारले प्रदेशमा कार्यरत चिकित्सकलाई ‘दुर्गम विशेष भत्ता’को व्यवस्था गरेको थियो । उनले सरकारबाट प्राप्त दुर्गम भत्ताले एक किसानको ऋण तिरिदिएर देशमै उदाहरणिय काम गरेका छन् । कर्णाली मेरो लागि दुर्गम वा सुगम होइन, मेरो घर हो, डाक्टर केसी यसो भन्छन ‘त्यसैले प्रदेश सरकारले दिएको दुर्गम विशेष भत्ता लिन अलिकति गाह्रो लाग्यो, सरकारलाई धन्यवाद दिँदै कृषक कृष्णबहादुरको ऋण तिरिदिएँ ।’
लाखौं रुपैयाँ खर्च गरेर डाक्टर पढेकाहरू सकेसम्म दुर्गममा सेवा गर्न चाहँदैनन् । यो समस्या बाँकेको नेपालगन्जमा पनि छ । यहाँका डाक्टर दुर्गम जान भनेपछि पहाडै खसेजस्तो गर्छन् । विकट भूगोलमा गएर सेवा गर्नुभन्दा सुगममै रमाउँछन् । यहि बाँकेको छिमेकी जिल्ला सुर्खेतमा यस्ता डाक्टरहरू पनि छन्, जो सुगमको सुखसयल र अवसर छोडेर दुर्गममा सेवा गर्दै आएका छन् । आफूले पाउने पारिश्रमिक सामाजिक सेवामा खर्चिन्छन् ती महान डाक्टर नवराज केसीप्रति यो कलमजीवीको ‘नमन छ अनि सलाम छ ।’
डाक्टर केसीले फिलिपिन्सबाट एमडी पूरा गरेका छन् । उनका लागि स्वदेशका सुगम क्षेत्र मात्रै होइन, विदेशमा पनि रोजगारीका ढोका खुलै छन । तर, उनी विकट कर्णालीलार्य नै कमृचथलो बनाउँन चाहन्छन् ।
डाक्टर केसीले छोटो समयमै चिकित्सा क्षेत्रसँगै सामाजिक अभियानमा महत्त्वपूर्ण योगदान पु¥याएका छन् । कर्णालीका विभिन्न जिल्लामा पुगेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको उनी बताउँछन । प्रदेश राजधानीलाई स्वच्छ र हरियाली बनाउनका लागि ‘क्लीन सुर्खेत, ग्रीन सुर्खेत’ अभियान चलाइरहेका छन् । आफ्नो मासिक तलबबाट बाल स्वास्थ्य सुधारका लागि विङ्स फाउण्डेसनमार्फत अपाङ्गता भएका बालबालिकाको निःशुल्क उपचार गराउँछन् ।
‘एउटा चिकित्सकले व्यक्तिमा लागेको रोगको पहिचान गरेर निदान गर्नु ठूलो कुरा होइन, समग्र समाजभित्रको रोगको पहिचान गरेर निदान गर्नु महत्वपूर्ण कुरा हो ।’ यो डाक्टर केसी भनाई हो । उनी थप्छन ‘त्यहीँ सोच र भावनाका कारण आफ्नै ठाउँमा आएर चिकित्सकीय सेवाका साथै सामाजिक काममा सक्रिय छु ।’
विङ्स फाउण्डेसनमार्फत उनी सामाजिक काममा सक्रिय छन् । आफनो मासिक तलब फाउण्डेसनमा जम्मा गर्नै गरेको डाक्टर केसी बताउँछन् । स्वास्थ्य सेवालाई जागिर नभई सामाजिक सेवा र धर्मका रुपमा लिएको उनी बताउँछन् ।
कर्णालीका १० जिल्लामध्ये ८ जिल्लामा पुगेर ५४ स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका डाक्टर केसीले आम विरामीलाई शिविरमा निःशुल्क औषधि वितरण गरेका छन् । फाउन्डेसनमार्फत उनले वीरेन्द्रनगरमा अपाङ्गता भएका बालबालिकाका लागि पुनःस्थापना केन्द्र सञ्चालनमा ल्याएका छन् । हिँडडुल गर्न नसक्ने र विशेष क्षमता भएका बालबालिकाको निःशुल्क उपचार गर्दै आएका छन् । केन्द्रबाट हालसम्म ५०० भन्दा धेरै बालबालिकाले निःशुल्क उपचार पाएका छन् । डाक्टर केसीले प्रत्येक शनिवार वीरेन्द्रनगरमा सरसफाइ अभियान सञ्चालन गर्दै आएका छन् ।
उनी आफैं बेल्चाले नालीभित्रको फोहर उठाउँछन् । झाडुले सडक र चोकहरू सफा गर्छन् । फोहर थुप्रिएको ठाउँमा पार्क निर्माण गर्छन् । अहिले उनको यो अभियानमा स्थानीय प्रदेश सरकार पनि जोडिएको उनी बताउँछन् ।