नेपालगन्ज : बाँकेमा पुनः ११ जनामा कोरोना भाइरस संक्रमण पाइएकोछ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना भाइरस संक्रमण पाइएको हो ।
बाँके र बर्दिया लगायतको ७ सय स्वाब परीक्षण गर्दा यी ब्यक्तिहरुमो कोरोना पुष्टि भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले जानकारी दिए ।
भेरी अस्पताल नेपालगन्जमा गरिएको स्वाब परीक्षणको रिर्पोट अनुसार बाँकेका ११ र बर्दिया जिल्लाका १२ जना गरि २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्गले बताए ।
उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस सार्वजनिक गर्दै यसको पुष्टि गरेका हुन् । शुक्रबार बाँकेमा थप भएका संक्रमितसँगै कुल संक्रमितको संख्या ६ सय ९६ पुगेको छ । तीमध्ये अहिले सम्म ४ सय ३५ जना उपचारपछि घर फर्किसकेका छन् भने तीन जनाको मृत्यु भइसकेकोछ ।
यस्तै बर्दियामा शुक्रबार १२ जना थपिएसँगै संक्रमितको संख्या २ सय ८५ पुगेको छ । बर्दियामा २ सय ३२ जना निको भएर घर फर्किसकेका छन् । पछिल्लो पटक बाँके र बर्दियामा कोरोना भाइरस संक्रमण बढेपछि उच्च सर्तकता अपनाइएको छ । बाँके प्रशासनले गत साउन १८ गते आईतबारदेखि लगाएको निषेधाज्ञा आज रातीबाट हटाएकोछ भने बर्दियाले ३२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेकोछ ।
यसबीच बर्दिया सदरमुकाम गुलरिया नगरपालिकास्थित मुक्तिनाथ विकास बैंक लिमिटेड र बढैयाताल गाउँपालिकास्थित सिटिजन बैक लिमिटेड सिल गरिएको छ । ती बैंकका कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि बैंकहरु सिल गरिएको हो ।