नेपालगन्ज : नेपालमा पहिलो पटक एकैदिन एक हजार भन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभर १ हजार १६ जनामा कोरोना संक्रमण देखिएको हो । योसगैं नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ । डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० जना रहेको छ ।
यस्तै कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा थप सातजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँके, कास्की, काभ्रे, धनुषा, नवलपरासी र मोरङ एक–एक पुरुष र तनहुँकी एक महिला रहेका मन्त्रालयले जनाएकोछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय १४ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर गौतमका अनुसार पछिल्लो २४ घण्टामा अहिलेसम्मकै उच्च कोरोना संक्रमित थपिनुका साथै संक्रमितको मृत्यु भएको हो ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट ८५ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६२ दशमलव २ प्रतिशत रहेको छ । भने मंगलबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १० हजार ५ सय ६३ रहेको छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट १३ हजार ४ सय ६१ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ५ लाख ८२ हजार ८ सय ६६ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभर दुई हजार ८ सय ८७ जना होम आइसोलेसनमा रहेका छन् । आजसम्म देशभर १३ हजार ९ सय २६ जना क्वारेन्टिनमा रहेका छन् ।