भेरी अस्पतालका लेखाअधिकृत सहित ४ कर्मचारी निलम्बित


भेरी अस्पतालका लेखाअधिकृत सहित ४ कर्मचारी निलम्बित

File Photo

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जका लेखा अधिकृत सहित ४ जना कर्मचारी निलम्बनमा परेकाछन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १६ लाख कमिसनको रकम सहित कम्प्युटर अपरेटरलाई पक्राउ गरेपछि भेरी अस्पतालका लेखा अधिकृत सहित ४ कर्मचारी निलम्बनमा परेका हुन् ।

निलम्बन हुनेहरुमा भेरी अस्पताल नेपालगन्जका लेखाअधिकृत माधव आचार्य, लेखापाल इन्द्र ओली, सहलेखापाल प्रेम खत्री र कम्प्युटर अपरेटर अरुणराज खनाल रहेकाछन् ।

रकमसहित रङ्गेहात पक्राउ परेका कम्प्युटर अपरेटर खनालको बयानका आधारमा लेखाअधिकृत सहित थप तीन जनालाई निलम्बन गरेको हो ।
भेरी अस्पतालमा अख्तियार दुरुपयोग आयोगले गत साउन ८ गते छापा मारेकोछ । सोक्रममा अस्पतालका कम्प्युटर अपरेटर खनालबाट १६ लाख १३ हजार ९ सय ७५ रुपैयाँ कमिशन सहित पक्राउ गरेको थियो ।

खनाल पक्राउ पश्चात भेरी अस्पतालबाट अस्पताल प्रमुख सहित लेखासंग सम्बन्धित अन्य कर्मचारीलाई बयानका लागि अख्तियारले काठमाण्डौं बोलाएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

अस्पतालका कर्मचारीहरु बयान दिएर आइसकेपछि थप अनुसन्धान र मुद्दालाई अगाडी बढाउन निलम्बन गर्नुपरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएकोछ ।

कोरोना भाइरस टेस्ट गर्ने मेशिन लगाएत विभिन्न मेडिकल उपकरण खरिदमा अनियमितता भएको भन्दै उजुरी परेको थियो । उपकरण खरिदका विषयमा परेको उजुरीमा छानविन भइरहेका बेला अख्तियारले पुनः अस्पतालमा छापा हानी कमिशनको रकमसहित फेला पारेको थियो ।

अख्तियार नेपालगन्जका सूचना अधिकारी लोकमणी पाण्डेका अनुसार, बायो मेडिकल ईकुपमेन्ट लगायतका मेडिकल उपकरण र औजारहरू टेण्डरबीनै खरिद गरी आर्थिक चलखेल तथा अनियमितता गरेको भन्दै भेरी अस्पताल विरूद्ध अख्तियारमा असार पहिलो साता उजुरी दर्ता भएको थियो ।