नेपालगन्ज : नेपालमा बुधबार थप ६ सय ८१ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २८ हजार ९ सय ३८ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थपिएका संक्रमित मध्ये २ सय १६ महिला र ४ सय ६५ पुरुष रहेका छन् । यसअघि मंगलबार हालसम्मकै एकदिनमा सर्वाधिक एक हजार १६ जना कोरोना संक्रमित थपिएका थिए । यस्तै देशभरका विभिन्न अस्पताल तथा आइसोलेसन केन्द्रबाट पछिल्लो २४ घण्टामा १ सय २० जना डिस्चार्ज भएका छन् । योसहित हालसम्म १७ हजार ७ सय जना डिस्चार्ज भएका मन्त्रालयले जनाएकोछ ।
मन्त्रालयका अनुसार बुधबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ११ हजार १ सय १८ रहेकाछन् । पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट ११ हजार ५ सय २२ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ५ लाख ५४ हजार ३ सय ८८ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभर ७ हजार ८ सय ९७ आइसोलेसन र होम आइसोलेसनमा ३ हजार १ सय ३१ रहेका छन् । आजसम्म देशभर १३ हजार ५ सय ७१ जना क्वारेन्टिनमा रहेका छन् । बुधबार बेलुकासम्म नेपालमा १ सय २० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोरोना संक्रमितको संख्या पाँच सयभन्दा बढी भएका जिल्लाहरु मोरङ, पर्सा, रौतहट, महोत्तरी र काठमाडौं रहेका छन् । संखुवासभा, मनाङ, मुस्ताङ र हुम्लामा संक्रमण शून्य देखिन्छ ।
मन्त्रालयका अनुसार हालसम्म ६ जना कोरोना संक्रमित भेन्टिलेटरमा छन् । उनीहरु सबै वागमती प्रदेशका हुन् । यसअघि शनिबार ११ हजार ४७ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ६८ कोरोना संक्रमित थपिएका थिए । त्यसैगरी १ सय २४ जना डिस्चार्ज भएका थिए । आईतबार देशभर गरिएको १२ हजार ३ सय ४७ पीसीआर परीक्षणमा ६ सय ४१ मा कोरोना पोजेटिभ देखिएको हो । आईतबार १ सय ३४ जना अस्पतालबाट डिस्चार्ज भएका थिए ।
११ हजार ५२ को पीसीआर परीक्षण गर्दा सोमबार ५ सय ८१ कोरोना संक्रमित थपिएका छन् भने १ सय ६० जना डिस्चार्ज भएका छन् । मंगलबार १३ हजार ४ सय ६१ को पीसीआर परीक्षण गर्दा एक हजार १६ कोरोना संक्रमित थपिएका थिए भने ८५ जना डिस्जार्ज भएका थिए ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा बुधबार १ सय ५९ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौंमा १ सय ३४, ललितपुरमा १७ र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले बताएका छन् ।
योसँगै काठमडौंमा कोरोना संक्रमित हुनेको संख्या १ हजार ९ सय ८७, ललितपुरमा १ सय ५० र भक्तपुरमा १ सय ७१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ ।