नेपालगन्ज : नेपालमा बिहीबार थप ७ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पाइएकोछ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २९ हजार ६ सय ४५ जना पुगेको छ । जसमा १ सय ९२ महिला र ५ सय १५ पुरुष रहेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ सय ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १७ हजार ९ सय ६४ उपचारपछि निको भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६१ प्रतिशत रहेको छ ।
नेपालमा हालसम्म १ सय २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको हो । यसअघि मंगलबार हालसम्मकै एकदिनमा सर्वाधिक एक हजार १६ जना कोरोना संक्रमित थपिएका थिए ।
आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ५५५ रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट ११ हजार ८३२ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ५ लाख हजार जनाको पीसीआर परीक्षण गरिएको छ ।