कोरोना अपडेट

नेपालमा कोरोना संक्रमित संख्या ३० हजार बढी, १३७ जनाको ज्यान गयो


नेपालमा कोरोना संक्रमित संख्या ३० हजार बढी, १३७ जनाको ज्यान गयो

नेपालगन्ज : नेपालमा शुक्रबार थप ८ सय ३८ कोरोना भाइर संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परीक्षणबाट थप ८ सय ३८ संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार थपिएका कोरोना संक्रमित मध्ये २ सय ९२ जना महिला र ५ सय ४६ जना पुरुष रहेका छन् । यसअघि मंगलबार हालसम्मकै एकदिनमा सर्वाधिक एक हजार १६ कोरोना संक्रमित थपिएका थिए । त्यसपछि ठूलो मात्रामा कोरोना संक्रमित आज भेटिएका हुन् ।

शुक्रबार थपिएका ८ सय ३८ जना सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३० हजार ४ सय ८३ जना पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट २ सय ५० जना डिस्चार्ज भएका छन् । योसगैं देशभरबाट हालसम्म १८ हजार २ सय १४ जना डिस्चार्ज भइसकेका छन् । हालसम्म डिस्चार्ज हुने दर ५९ प्रतिशत ८ रहेको छ ।

आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १२ हजार १ सय ३२ रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट १३ हजार ५ सय ७९ जनाको पीसीआर परीक्षण गरिएको हो । हालसम्म जम्मा ५ लाख ७९ हजार ८ सय ९९ जनाको पीसीआर परीक्षण गरिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

देशभरका संस्थागत आइसोलेसन ८ हजार ५ सय ४६ जना र होम आइसोलेसनमा ३ हजार ५ सय ८६ रहेका छन् । आजसम्म देशभर १२ हजार २ सय ३४ जना क्वारेन्टिनमा रहेका छन् ।

यसैबीच नेपालमा एकै दिन ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । गत २४ घण्टामा नेपालमा एक महिला सहित १० जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

काठमाडौं सहित ११ जिल्लामा ११ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठानमा १/१ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।

यसअघि बिहिबार ६ जना संक्रमितको मृत्यु भएको थियो । आज थपिएका ११ जनासहित नेपालमा कोरोना संक्रमितमध्ये १ सय ३७ जनाको मृत्यु भएको छ ।