नेपालगन्ज : बाँकेको कोहलपुर स्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा एक कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया गरिएकोछ । बुटवल उपमहानगरपालिका–११ नहरपुरकी कोरोना संक्रमित २८ वर्षीया गर्भवतीलाई लुम्बिनी प्रादेशिक अस्पतालले भर्ना नलिएपछि गत सोमबार कोहलपुर ल्याइएको थियो ।
मेडिकल कलेजका चिकित्सकले उनको तत्काल शल्यक्रिया गर्न आवश्यक नरहेको भनी आइसोशनमा राखेर निगरानी गरिरहेका थिए । तर, सङ्क्रमित महिलालाई गएराति एक्कासी पेट दुखेपछि नेपालगन्जस्थित आइसोलेशनबाट नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लगिएको थियो ।
अस्पतालका स्त्रीरोग विशेषज्ञसहितको टोलीले आज बिहान ती गर्भवती महिलाको सफल शल्यक्रिया गरेको छ । बिहान करीब ९ः३० बजे शल्यक्रियाबाट छोरीको जन्म भएको अस्पतालले जनाएकोछ ।
नवजात शिशुको स्वास्थ्य अवस्था ठीक रहेको र तौल साढे २ केजी रहेको मेडिकल कलेजका उपनिर्देशक दिनेश श्रेष्ठले जानकारी दिए । उनले भने ‘अहिले आमा र बच्चाको स्वास्थ्य अवस्था ठिक छ । भोली कोरोना परीक्षण गर्छौँ त्यसपछि मात्रै बच्चामा कोरोना भाइरस सङ्क्रमण भए नभएको थाहा हुन्छ ।’ उनका अनुसार योसँगै मेडिकल कलेजमा सङ्क्रमित गर्भवतीको चौथो पटक शल्यक्रिया गरिएको हो ।
गत आइतबार एक्कासी पेट दुखेपछि प्रादेशिक अस्पताल बुटवल पुगेकी उनको कोरोना रिपोर्ट पोजेटिभ आएपछि चिकित्सकले उपचारका लागि काठमाडौँ वा नेपालगन्ज जान सुझाएका थिए ।
पहिलो सन्तान जन्माउन नसकेर शल्यक्रिया गरिएका कारण दोस्रो सन्तानका लागि पनि शल्यक्रिया नै गर्नुपर्ने भन्दै प्रादेशिक अस्पतालले छिटो विधिबाट पीसिआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो । गर्भवतीका श्रीमान पनि कोरोना पोजेटिभ भएका कारण आइसोलेशनमै छन् ।
सङ्क्रमित गर्भवतीलाई कोहलपुरसम्म लैजान एम्बुलेन्सले समेत नमानेपछि आफन्तले नीजि साधनमा नेपालगन्ज ल्याएका थिए । नियमित जाँच गर्दै आएका डाक्टर प्रायश्चित श्रेष्ठले समेत श्रीमानलाई कोरोना लागेको थाहा पाएपछि अब यहाँ नआउनु भन्ने जवाफ दिएपछि गर्भवती तथा उनका आफन्त तनावमा थिए ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर कोभिड–१९ लेभल ३ को अस्पताल हो । अस्पतालले यसअघि तीनजना गर्भवतीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ । अछाम, कपिलबस्तु र रुकुमकी गर्भवतीको सफल शल्यक्रिया गरिसकेको छ । बुटवलकी गर्भवती महिला सहित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले ४ जना कोरोना पोजेटिभ गर्भवतीको शल्यक्रिया गरिसकेकोछ ।