खजुरा र कोहलपुरका आइसोलेशनबाट भागे दुई संक्रमित


खजुरा र कोहलपुरका आइसोलेशनबाट भागे दुई संक्रमित

नेपालगन्ज : बाँकेको खजुरास्थित कृषि तालिम केन्द्रमा रहेको आइसोलेसनबाट कोरोना संक्रमित थुनुवा भागेकाछन् । कोरोना भाइरसको संक्रमण देखिएपछि उक्त आइसोलेशन सेन्टरमा राखिएका बाँकेका ती थुनुवा फरार भएको प्रहरीले जनाएको छ ।

लागुऔषध कोरेक्ससहित नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएका थुनुवालाई कोरोना संक्रमण देखिएपछि आइसोलेशन सेन्टरमा पठाइएको थियो । भदौ ५ गते आइसोलेशन सेन्टरमा पठाइएका थुनुवा आईतबार भागेका हुन् ।

बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले आइसोलेशनमा पठाइएका थुनुवा भागेको र खोजी भइरहेको बताएकाछन् । थुनुवा भागेपछि एसपी रानाले आइसोलेशनको ड्युटीमा रहेका पाँच प्रहरीलाई जिल्ला प्रहरी कार्यालय तानेका छन् ।

उनीहरुलाई कारबाहीको दायरामा ल्याइएको छ । एसपी रानाले भने, ‘राम्रो गर्ने प्रहरीलाई पुरस्कृत गर्छु । गल्ती गर्नेलाई कारबाही गर्छु ।’ कृषि तालिम केन्द्रको आइसोलेशनमा असईको कमाण्डमा पाँच प्रहरी खटिएका थिए । फरार थुनुवालाई खोज्नका लागि टोली परिचालन गरिएको छ । थुनुवा नेपालगन्जबासी हुन् ।

Kanti Aarogya Hospital Nepalgunj

यसैबीच, कोरोना भाइरसको संक्रमण देखिएपछि कोहलपुरबाट अर्का एकजना भागेका छन् । उनी सम्पर्कमा आएका छैनन् । भारतबाट काम गर्न कोहलपुर आएका व्यक्ति कोरोना देखिएपछि सम्पर्कबिहीन भएको कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए । ती व्यक्तिको यतिबेला खोजी भइरहेको छ ।

बाँकेका कोरोना संक्रमित आइसोलेशनबाट भागेको यो भने पहिलो होइन । यसअघि बाँकेको जानकी गाउँपालिका साईगाउँ स्थित आइसोलेसनबाट नेपालगन्ज कोरियनपुरका एक कोरोना संक्रमित भागेका थिए ।