नेपालगन्ज : कोरोना भाइरस संक्रमित भइ आइसोलेसनमा उपचाररत बाँकेका १४ जनाले कोरोना भाइरस जितेका छन् । कोरोना भाइरस जितेसगैं उनीहरुलाई डिस्चार्ज गरिएकोछ ।
स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार गत साउन २६ गते आइसोलेसनमा भर्ना भएकाहरुलाई आज डिस्चार्ज गरिएको हो । उनीहरुले १४ दिन पुरा गरि कोरोनालाई जितेका हुन् ।
कोरोना जित्नेहरुमा बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा आइसोलेसनबाट २ जना, खुल्ला कारागार आइसोलेसनबाट १ जना, चिसापानी आइसोलेसनबाट ३ जना, भेरी अस्पताल आइसोलेसनबाट १ जना, वडा प्रहरी कार्यालय आइसोलेसनबाट ४ जना , कृषि तालिम केन्द्र खजुरा आइसोलेसनबाट १ जना र डुडुवा आइसोलेसनबाट २ जना गरी ५ महिला र ९ पुरुष कोरोनामुक्त भई डिस्चार्ज भएकाछन् ।
आज डिस्चार्ज भएकाहरुमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका दुई डाक्टर, एक नर्स र वडा प्रहरी कार्यालयका चार प्रहरीसमेत छन् ।
सोमबार डिस्चार्ज भएका समेतगरी बाँकेमा कोरोना भाइरस जितेर घर फर्किनेको संख्या ६ सय २८ पुगेको छ । बाँकेमा कोरोना भाइरस संक्रमितको संख्या ८ सय २९ छ । जसमध्ये ४ जनाको ज्यान गइसकेको छ । अहिले जिल्लाका विभिन्न आइसोलेसनमा बाँकेका १ सय ९७ जना रहेका छन् । अन्य जिल्लाका चार जना पनि बाँकेकै आइसोलेसनमा बसिरहेका छन् ।