कोभिड–१९ विशेष अस्पताल निर्माणका लागि संघद्वारा पाँच लाख सहयोग


कोभिड–१९ विशेष अस्पताल निर्माणका लागि संघद्वारा पाँच लाख सहयोग

नेपालगन्ज :  कोभिड–१९ विशेष अस्पताल निर्माणका लागि नेपालगनज उद्योग वाणिज्यसंघले आर्थिक सहयोग गरेकोछ । भेरी अस्पताल नेपालगन्जमा निर्माण गरिन लागेको कोभिड–१९ बिशेष अस्पतालका लागि संघले ५ लाख ५१ हजार आर्थिक सहयोग गरेको हो ।

मंगलवार संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीद्वारा कोभिड–१९ बिशेष अस्पतालका प्रमुख डाक्टर श्यामसुन्दर यादवलाई उक्त रकमको चेक हस्तान्तरण गरेकाछन् ।

सामाजिक उत्तरदायित्व बहन गर्दै संघले आर्थिक सहयोग गरेको अध्यक्ष मन्सुरीले बताए । कोभिड संकट समाधानका लागि बाँकेका निजीक्षेत्र सक्रियतापूर्वक लागेको स्मरण गर्दै अध्यक्ष मन्सुरीले आगामी दिनमा पनि अभियान जारी रहने जानकारी दिए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले बाँकेमा कोरोना संकट समाधानमा निजीक्षेत्रको महत्वपूर्ण भूमिका निभाएको भन्दै प्रशंसा गरेका थिए । उनले पछिल्लो समय बाँकेमा स्वास्थ्य मापदण्ड पालना सन्तोषजनक भएको बताउँदै त्यसैमा हौसिने अवस्था नरहेकोले सचेत रहन आग्रह गरे ।

Kanti Aarogya Hospital Nepalgunj

अस्पताल निर्माणका लागि आर्थिक सहयोग गरेकोमा कोभिड–१९ बिशेष अस्पतालका प्रमुख डाक्टर यावदले धन्यवाद दिए । उनले कोभिड–१९ विशेष अस्पताल निर्माणका लागि प्राप्त रकमलाई सदुपयोग गर्ने बताए ।

नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओलीका अनुसार कोभिड बिशेष अस्पताल सहित यसअघि पनि संघले बिभिन्न क्षेत्रमा आर्थिक एवं स्वास्थ्य सामाग्रीको सहयोग गरेको छ ।

रकम हस्तान्तरण कार्यक्रममा बाँकेमा प्रहरी प्रमुख ओमबहादुर राना, नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल बैश्य, भेरी अस्पतालका मेसु डाक्टर प्रकाश थापा, संघका पदाधिकारी, एशोसिएसट सदस्य एवं कार्यसमिति सदस्यको सहभागिता रहेको थियो ।