नेपालगन्ज : कोरोना भाइरसबाट बाँके जिल्लामा ठूलो संख्यामा स्वास्थ्यकर्मी संक्रमित हुन पुगेका छन् । रातदिन विरामीको सेवामा तल्लिन स्वास्थ्यकर्मीलाई अन्तत: कोरोना भाइरसले पनि छोडेन ।
बाँके जिल्लामा हालसम्म ७ चिकित्सक सहित ३८ जना स्वास्थ्यकर्मीहरुलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ । यो संख्या दिनानुदिन बढ्दो छ । नाम चलेका भेरी अस्पतालका चिकित्सक डाक्टर राजन पाण्डे र डाक्टर संकेत रिसाल कोरोना संक्रमित छन् । उनीहरुलाई कोरोना संक्रमण देखिएको दुई दिन भयो ।
कोभि– १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले उपलब्ध गराएको तथ्यांक अनुसार, बाँके जिल्लामा स्वास्थ्य सेवाका ३८ जना कोरोना संक्रमित भएका छन् । जस मध्ये ७ चिकित्सक, १७ नर्स, १ ल्याबकर्मी, ६ पाराडिक्स, ७ हेल्पर रहेका छन् ।
संक्रमित ३८ जना मध्ये भेरी अस्पतालका २ चिकित्सक, १ नर्स गरी ३ जना, नेपालगन्ज मेडिकल कलेजका ४ चिकित्सक, ११ नर्स, ६ प्यारामेडिक्स, ७ सहायक कर्मचारी गरी २८ जना संक्रमित भएका छन् ।