बाँकेमा एकैदिन अहिलेसम्मकै धेरै कोरोना संक्रमित फेला परे


बाँकेमा एकैदिन अहिलेसम्मकै धेरै कोरोना संक्रमित फेला परे

नेपालगन्ज : कोरोना भाइरस संक्रमणको ग्राफ उकालो लागिरहेका बेला एकैदिन बाँकेमा ठूलो संख्यामा कोरोना संक्रमित फेला परेका छन् । बुधबार बाँकेमा ७३ जनमा कोरोना संक्रमण पुष्टि भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले बताएकाछन् । बाँकेमा पछिल्लो २४ घण्टामा एकैपटक ठूलो मात्रामा कोरोना संक्रमित भेटिएको यो पहिलो हो ।

प्रजिअ कुरुम्वाङ्गका अनुसार यसरी कोरोना संक्रमित भेटिनेमा सबैभन्दा बढि कोहलपुरमा भेटिएका छन् । बुधबार बाँकेको कोहलपुरमा ५१ जना कोरोना संक्रमित भेटिएकाछन् भने नेपालगन्जका १५ जनासहित २२ जना गरि ७३ जना कोरोना संक्रमित भेटिएका हुन् ।

यस्तै भेरी अस्पताल नेपालगन्जमा भएको पीसिआरका क्रममा बर्दिया बाँसगढीका एक जनामा समेत संक्रमण देखिएकोछ । संक्रमित भेटिनेमा भेरी अस्पताल नेपालगन्जमा गरिएको पीसिआर परीक्षणबाट २३ जनामा कोरोना संक्रमित भेटिएका थिए । जसमा नेपालगन्जको १५ जना सहित २२ जना र कोहलपुर–रामनगरस्थित बागेश्वरी डाईग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टरमा गरिएको पीसिआर परीक्षणबाट कोहलपुरका ५१ जनालाई कोरोना संक्रमण देखिएको प्रजिअ कुरुम्वाङ्गले बताए ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा पुनः भेरी अस्पतालका एकजना डाक्टरमा संक्रमण देखिएको छ । त्यस्तै नेपाल टेलिकमका ८ जना, पुरैना स्वास्थ्य चौकीका एक जना, माछापुच्छ्रे बैंकका दुईजनामा भाइरस संक्रमण पुष्टि भएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यसअघि कोरोन संक्रमणका कारण आज नै बाँकेमा थप एक जनाको मृत्यु भइसकेकोछ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का ३७ वर्षिय ती संक्रमित पुरुषको मृत्यु भएको थियो । यो सहित बाँकेमा मृत्यु हुनेको संख्या ५ पुगेकोछ ।

यसैबीच एकैदिन ठूलो मात्रामा कोरोना संक्रमित भेटिनु र थप एक जनाको मृत्युको खबरले यतिबेला बाँकेबासी त्रसित बनेकाछन् । कोरोना संक्रमित ह्वात्तै बढेपछि जिल्लाबासीको सुरक्षा तथा कोरोना नियन्त्रणका लागि पुनः निषेधाज्ञा जारी गर्ने नगर्ने भन्ने विषयमा छलफ गरिने प्रजिअ कुरुम्वाङ्गले बताए ।