नेपालगन्ज: नेपालमा थप एक हजार २ सय २१ जनामा कोरोना संक्रमण पाइएकोछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा एक हजार २ सय २१ संक्रमित थपिएको जानकारी दिए ।
यो २४ घण्टामा हालसम्मकै सबैभन्दा बढि संक्रमित भेटिएको तथ्यांक हो । जसमा ३ सय ४८ महिला र ८ सय ७३ पुरुष रहेका छन् । योसगैं देशभर कोरोना भाइरस संक्रमितको संख्या ३८ हजार ५ सय ६१ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट २ सय ६७ जना डिस्चार्ज भएका छन् । योसहित देशभरका विभिन्न अस्पताल तथा आइसोलेसन केन्द्रबाट हालसम्म २० हजार ८ सय २२ जना डिस्चार्ज भएका छन् । आईतबारसम्म डिस्चार्ज हुने दर ५४ प्रतिशत रहेको छ । आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ५ सय १८ रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट १२ हजार ७ सय १७ जनाको पीसिआर परीक्षण गरिएको हो । जसबाट आईतबारमात्रै एक हजार २ सय २१ जना संक्रमित थपिएका हुन् । भने देशभर कुल ६ लाख ८२ हजार ३ सय ४३ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन १० हजार ६ सय १२ जना र होम आइसोलेसनमा ६ हजार ९ सय ६ रहेका छन् । आईतबारसम्म देशभर ७ हजार ७ सय ९७ जना क्वारेन्टिनमा रहेका छन् ।
आईतबार काठमाडौंमा ३ सय ७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना संक्रमित थपिएका छन् । यस्तै पछिल्लो २४ घण्टामा देशभर १४ जनाको मृत्यु भएकोछ । यो आँकडा पनि पछिल्लो समयको अत्यधिक हो ।
मृत्यु हुनेमा चार महिला र १० पुरुष गरी १४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिएका छन् ।