नेपालगन्ज : नेपालमा ४ वर्षिया बालिका सहित ७ जना कोरोना संक्रमितको मृत्यु भएकोछ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या २ सय २८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ वटा जिल्लाका एक बालिका, दुई महिला र चार पुरुष गरी सात संक्रमितको मृत्यु भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेमा महोत्तरीका ४ वर्षीया बालिकासहित गोरखाको ६५ र रुपन्देहीको ६८ वर्षीया महिलाको मृत्यु भएको छ ।
महोत्तरीको मनरा सिस्वा नगरपालिकाकी ४ वर्षीया बालिकाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । उच्च ज्वरो र सास फेर्न समस्या भएपछि बालिकालाई तीन साताअघि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो । गत २३ साउनमा उपचारकै क्रममा उनको स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा हिजो (भदौ १४ गते) आईतबार दिउँसो मृत्यु भएको थियो ।
यस्तै कोरोना संक्रमित मृत्यु हुने पुरुषहरुमा झापाका ८६, रौतहटका ४०, चितवनका ७८ र भक्तपुरका ७७ वर्षीय पुरुष छन् । यसअघि आईतबार एकै दिन १४ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । यो सगैं सोमबार बेलुकासम्म नेपालमा ज्यान गुमाउनेको संख्या २२८ पुगेकोछ ।