देशभर थप १०६९ जनामा कोरोना पुष्टि


देशभर थप १०६९ जनामा कोरोना पुष्टि

नेपालगन्ज : देशमा कोरोना संक्रमितको संख्या ४० हजार नाघेकोछ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ६९ जनामा कोरोना भाइरसको संक्रमण देखिएसगैं नेपालमा कोरोना संक्रमतिको संख्या ४० हजार नाघेको हो ।

मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर ३४४ महिला र ७२५ पुरुष गरी १ हजार ६९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार संक्रमितको कुल संख्या जम्मा ४० हजार ५ सय २९ पुगेको हो ।

पछिल्लो २४ घण्टामा थप ७ सय ६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म २२ हजार १ सय ७८ उपचारपछि निको भएका छन् ।

यस्तै बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४ सय ८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा काठमाडौंमा ३ सय ९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेको गौतमले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १ सय १२ रहेको छ । यस्तै संस्थागत आइसोलेशनमा १० हजार ८ सय ३२ र होम आइसोलेशनमा ७ हजार २ सय ८० जना रहेका छन् । १२ हजार ८८ जनाको पीसीआर परीक्षण भएको गौतमले बताए ।

पछिल्लो २४ घण्टामा ४ वर्षिय बालिका सहित थप ११ जनाको मृत्यु भएसगैं देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ३९ पुगेको छ ।