नेपालगन्ज : पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १ सय २० जनामा कोरोना भाइरसको संक्रमण पाइएकोछ । बितेको २४ घण्टामा देशभर ३ सय २० महिला र ८ सय पुरुष गरी १ हजार १ सय २० जनामा कोरोना भाइरस संक्रमण पाइएको हो । योसगैं देशभर कुल संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा बोल्दै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ८ रहेको जानकारी दिए ।
यस्तै देशभर संस्थागत आइसोलेशनमा १० हजार ४ सय ९३ संक्रमित रहेका छन् भने होम आइसोलेशनमा ७ हजार ६ सय १५ जना रहेको मन्त्रलायका प्रवक्ता डाक्टर गौतमले बताए ।
यसैगरी बितेको २४ घण्टामा १ हजार ११२ जना निको भएका छन् भने देशभर कुल निको हुनेको संख्या २३ हजार २ सय ९० पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर थप १२ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा २ सय ५१ जना संक्रमितको मृत्यु भएको छ ।
यसैबीच प्रवक्ता डाक्टर गौतमका अनुसार बुधबार काठमाडौं उपत्यकामा थप ३ सय ८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ३ सय ५०, ललितपुरमा २९ र भक्तपुरमा ९ जना रहेका छन् ।